प्रधानमन्त्रीमा देउवालाई एमालेका २२ सहित १ सय ६५ सांसदको विश्वासको मत प्राप्त।

काठमाडौं:= प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत हासिल गर्नुभएको छ ।  विश्वासको मत लिन उहाँले प्रतिनिधिसभामा राखेको प्रस्तावको पक्षमा १ सय ६५ जना सांसदहरुले समर्थन गरेका छन् ।

आज भएको मतदानमा प्रधानमन्त्रीका पक्षमा १६५ मत र विपक्षमा ८३ मत परेको छ । मतदानमा २४९ सांसदले भाग लिनुभएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले एकजना सांसदले मतदान नगर्नुभएको जानकारी दिनुभयो ।

सभामुखले नेपालको संविधानको धारा ७६ को उपधारा ६ बमोजिम प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गर्नुभएको घोषणा गर्नुभयो ।

प्रतिनिधिसभामा नेकपा (एमाले)का १२१, नेपाली कांग्रेस ६१, नेकपा (माओवादी केन्द्र) ४९ र जनता समाजवादी पार्टी नेपालका ३४, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक तथा स्वतन्त्र एक सांसद छन् ।

गत असार २८ गते अदालतको फैसलाबाट प्रतिनिधिसभा पुनस्र्थापित भएपछि असार २९ गते प्रधानमन्त्रीमा देउवा नियुक्त हुनुभएको थियो । संविधानको धारा ७६ (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

एमालेका २२ सांसदले प्रधानमन्त्री देउवालाई मत दिएका छन्  देउवालाई विश्वासको मत दिनु हुनेहरुमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान हुनुहुन्छ ।

त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिनु भएको छ ।