[ शुभाकर विश्वकर्मा ]
नेपालगञ्ज:= नेपालको दक्षिणी समतल भू-भागमा बसोबास गर्ने पहिलो मूलवासी अर्थात् आदिवासी हुन् थारू जाति । शताब्दीयौंदेखि तराईमा बसोबास गर्दै आएका थारू भूमिप्रेमी हो । धेरैले ‘थार’ मरुभूमिसँग थारू जातिको साइनो गाँसेका छन् । नेपाल सरकारले थारू जातिलाई आदिवासीअन्तर्गत सूचीकृत गरिसकेको छ ।
यो जाति पश्चिम तराईका अधिकांश जिल्लाहरूमा बस्दै आएको छ । मानवशास्त्री डोरबहादुर विष्ट ९१९७६ इ, ‘पिपल अफ नेपाल’मा ‘तराईमा बस्ने सबभन्दा पुराना जातिमध्ये थारू एउटा होला भन्छन् । विष्टको अध्ययन तथा अन्य थुप्रै अध्ययनलेसमेत यसको पुष्टि गरेको छ । नेपालको तराई क्षेत्रमा सबैभन्दा बढी जनसंख्या भएको जाति हो । थारू जाति स्वभावले सोझा, इमानदार हुन्छन् । थारू समुदाय भाषा, भेषभूषा, संस्कार, चाडपर्व, एव रीतिरिवाज परम्पराले धनी छ । थारू समुदायमा दर्जनौं रीतिसंस्कृति रहेका छन् ।
थारू समुदायमा विरहेन चाँचर, चोरखेलिया नाच, रासलिला, कृष्णलिला, तरवारनाच, मयूर, वडका, बाह्रमासेरसधारी, झुमटा, छोकरा, झुर्रालगायत नाच प्रचलित छन् । बाँकेमा आठवटै स्थानीय तहमा थारू समुदायको बसोबास छ । जुन यहाँको आदिवासी समुदाय हो । जनसंख्याको हिसाबले नेपालकै सबैभन्दा ठूलो गाउँपालिकाका रूपमा रहेको राप्तीसोनारी गाउँपालिकामा थारूको समुदायको उल्लेख्य बसोबास छ ।
हिन्दू र बौद्ध धर्म मान्ने, थारू र नेपाली भाषा बोल्ने थारू थाति सांस्कृतिक जातिसमेत हो । थारू समुदायको पहिचानका रूपमा रहेका यस्तै संस्कृति संरक्षणमा राप्तीनसोनारी समुदायका महिला सक्रिय छन् । सधैं चुलोचौकोमा सीमित हुने महिला अहिले संस्कृति संरक्षणको अभियानमा सक्रिय भएका हुन् ।
थारू जातिका सखिया मादल, झुमरी मादल, कारा, टिम्की, ठेकारा, बौसी, मजैरा, मनार, मुरली, तमौरा, रेउनी, ढ्वाल, डफा, झर्रा, नारा, झाइल, पिपही, पिङरी, पिलरू, बसिया माटोको बाजा, चट्कौली, कस्टार, डिग्री मुख्य लोक बाजाहरू हुन् ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ सिनाबास टोलका महिलाहरू लोक बाजा र संस्कृति संरक्षणमा सक्रिय भएका छन् । उनीहरूले महिला समूह नै गठन गरेर संस्कृति संरक्षणमा सक्रिय भएका हुन् । चार वर्षअघि गठन गरिएको थारू समुदायका महिलाहरूको समूह हो, मनकामना आमा समूह । यसमा थारू महिला मुख्य पदाधिकारीका रूपमा छन् । सदस्यका रूपमा थारू पुरुषहरूसमेत छन्, थारू समुदायमा प्रचलित रीतिरिवाज, संस्कृति बाजाको संरक्षण मुख्य उद्देश्य हो।
सोहीअनुसार उक्त समूहले वडामा हुने हरेक कार्यक्रममा थारू समुदायका रीतिरिवाज झल्कने, गीत, नाच र सहभागिता अनिवार्य बनाउने अभियान थालेको छ । समूहकी अध्यक्ष सिरमला थारू महिलाहरूले पनि संस्कृति संरक्षणमा काम गर्न सक्छन् भन्ने ध्यायलेसमूह गठन गरिएको बताउनुहुन्छ । उहाँका अनुसार समूहले विभिन्न कार्यक्रममा समेत अर्थपूर्ण सहभागिता जनाउने गरेको छ ।
‘हामीले महिला अधिकारका विषयमा समेत आवाज उठाउने गरेका छौं । थारू संस्कृति संरक्षण गर्नु हाम्रो मूल दायित्व हो । त्यसैले थारू महिलाको सशक्तीकरणका सवालमा समेत कुराकानी गर्छौ ।’ सञ्चारकर्मीसंग कुराकानी गर्दै उहाँले भन्नुभयो । थारू महिलाको यो अभियानमा स्वास्थ्य संस्था तथा स्थानीय सरकारको समेत साथ छ ।
थारू समुदायमा प्रचलित नाचमध्ये छोकरा नाथसमेत एक हो । यो नाच थारू समुदायमा प्रचलित परम्परागत बाजा र भेषभूषा सहित नाचिन्छ । यो नाचमा १०–१२ जना महिला परम्परागत भेषभूषासहित विभिन्न बाजा बजाएर नाच्छन् । यो नाचमा पुरुष भने मादल र झ्याली बजाउँछन् । जुन यो बाजाका लागि अनिवार्य हो। यो नाचमा सबै महिलाले फरक–फरक बाजा बोकेका हुन्छन् । यो नाच यो विशेषगरी विभिन्न चाडपर्वमा नाच्ने गरिन्छ । माघी तथा विवाहको समयमा समेत यो नाच नाचिन्छ ।
यो नाचमा प्रयोग हुने लोक बाजामध्ये झ्याली, चिरैयाँ हो । यी दुवै बाजा काठमा निर्माण गरिन्छ । यस्तै महिलाहरूले चाँदीको सिक्का, खोस्या, सुत्या, च्याख्याउली, कस्तारको समेत प्रयोग गर्दछन् । छोकरा नाचमा पहाडी र थारू भाषाको प्रयोग गरिन्छ । यो एक प्रकारको दोहोरी हो । यो नाच नाच्दाँ खुशी भएर दिएको रुपैयाँ नाचमा सहभागी महिलामध्ये एकजनाले अनिवार्य रूपमा घोप्टो गरेर मुखले छोऐरमात्रै आशिषका रूपमा स्वीकार गर्ने गर्छन् ।




















