२७ लाख बढीले लगाए कोरोनाविरुद्ध खोपको पहिलो मात्रा।

काठमाडौं:= विश्वव्यापी महामारीका रूपमा रहेको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण लाई नियन्त्रणको एक मात्र विकल्प खोपलाई लिइएको छ । हामीकहाँ पनि यतिवेला विभिन्न उमेर समूह र विभिन्न व्यक्तिहरूलाई खोप लगाउने कार्य जारी नै छ । तर, यो प्रायप्त भने छैन । निर्वतमान केपी शर्मा ओलीको सरकारले खोपलाई प्राथमिकतामा राख्दै विभिन्न देशबाट खोप ल्याउने कार्य र सम्झौता गरेअनुरुप खोप आइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समयसम्म ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल भित्रिएको छ । अनुदान, खरिद र कोभ्याक्स अन्तर्गत गरेर नेपालमा अहिलेसम्म यो संख्यामा खोप आएको हो । कोभ्यास फ्यासिलिटी अन्तर्गत नेपालमा सबैभन्दा पहिला तीन लाख ४८ हजार डोज कोभिसिल्ड खोप आएको थियो ।

मन्त्रालयका अनुसार अब केही दिनमा नै थप ६४ लाख डोज खोप आउने छ । चीनसँग खरिद गरिएको ३२ लाख अबको १० दिनभित्रमा आउने छ भने चीनबाट अनुदानस्वरूप १६ लाख र जापानबाट १६ लाख कोभ्याक्सअन्तर्गतको खोप आउन पक्का भएको छ । यसअघि चीनले १८ लाख र भारतले १० लाख खोप अनुदानमा दिएका थिए । नेपालले भारतको सेरम इन्स्टिच्युसँग २० लाख डोज खोप खरिदका लागि रकम पठाइएको भएपनि अझै १० लाख डोज खोप उपलब्ध हुन सकेको छैन ।

यही असार २८ गते मात्र कोभ्याक्समार्फत नै अमेरिकी सरकारले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप पनि नेपाल आइसकेको छ । त्यस्तै, भारतबाट नेपाली सेनाका लागि एक लाख डोज खोपसमेत अनुदानमा प्राप्त गरेको थियो ।

नेपालमा हालसम्म २७ लाख बढीले कोरोना विरुद्ध खोपको पहिलो मात्रा लगाएका छन् । २७ लाख ६५ हजार ७०९ जनाले कोभिसिल्ड र भेरोसेल खोपको पहिलो मात्रा लगाएको मन्त्रालयले जनाएको छ । पछिल्लो समयसम्म ११ लाख २० हजार २८२ जनाले दुबै डोज खोप लगाएका छन् ।

काठमाडौं महानगरपालिकाले पछिल्लो समयसम्म सात प्रतिशत नागरिकले मात्रै खोपको दुवै मात्रा लगाएको जनाएको छ । पहिलो मात्रा लगाउने नागरिक १६ प्रतिशत रहेका भए पनि त्यसको आधाभन्दा कम नागरिकले मात्र पूर्ण खोप लगाएका छन् ।

थप १८ सय ७५ जनामा संक्रमण, २१ को मृत्यु

शनिबार थप एक हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ८५८ पिसिआर परीक्षणका क्रममा एक हजार ३१० र तीन हजार २०८ एन्टीजेन परिक्षणका क्रममा ५६५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सात लाख १४ हजार २४८ पुगेको छ । शनिबारको संक्रमण दर १८.६२ प्रतिशत छ ।

शनिबार कोरोना संक्रमणका कारण थप २१ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार ५२७ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, थप दुई हजार १६४ संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३० हजार ४०७ पुगेको छ । पछिल्लो समय सक्रिय संक्रिमितको संख्या २५ हजार ९५२ छ । निको हुने दरमा वृद्धि भएसँगै शनिबार सक्रिय संक्रमितको संख्या घटेको छ । ३.९० प्रतिशत सक्रिय संक्रमित छन् ।

शनिबार काठमाडौं उपत्यकामा थप ४२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा २९९, भक्तपुरमा ५२ र ललितपुरमा ७७ जनामा गरी कुल ४२८ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार उपत्यकामा ५४१ जनामा संक्रमण पुष्टि भएको थियो ।