काठमाडौं:= फेरि कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या बढेको छ । शुक्रबार थप ४३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार ३३ जनाको मृत्यु भएको थियो भने शुक्रबार १० ले बढी मृत्यु भएको छ । गत आइतबार यताको तथ्यांक हेर्दा आइतबार २०, सोमबार १८, मंगलबार १२, बुधबार १८ र बिहीबार ३३ जना संक्रमितको मृत्यु भएको थियो । पछिल्लो थप भएको मृत्युको संख्यासँगै कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या नौ हजार ५०६ पुगेको छ ।
यस्तै, कोरोना संक्रमितको संख्या पनि बढ्न थालेको छ । शुक्रबार थप दुई हजार ९३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको नौ हजार ६१३ जनाको पिसिआर परीक्षणबाट दुई हजार ६ र चार हजार ५६९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९३० जना गरी जम्मा दुई हजार ९३६ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार दुई हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने बुधबार दुई हजार ९०५ र मंगलबार एक हजार ६३९ जनामा संक्रमण पुष्टि भएको थियो ।
शुक्रबार थप भएकासँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या सात लाख १२ हजार ३७३ पुगेको छ । तीमध्ये नौ हजार ५०६ जनाको मृत्यु भएको छ भने ६ लाख २८ हजार २४३ जना संक्रमणमुक्त भएका छन् । शुक्रबार थप एक हजार ७७५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये २४ हजार २७४ जना होम आइलेसनमा छन् । यस्तै, दुई हजार ५५३ संस्थागत आइसोलेसनमा छन् । जसमध्ये ५७८ जनाको आइसियु र १७४ जनाको भेन्टिलेटरमा उपचाररत छन् ।
शुक्रबार प्रदेश १ मा ७५३, प्रदेश २ मा ५७ तथा बागमती प्रदेशमा ७४०, गण्डकीमा २१८, लुम्बिनीमा १०३, कर्णालीमा ५१ र सुदूरपश्चिम प्रदेशमा ८४ जनामा संक्रमण पुष्टि भएको छ ।काठमाडौं उपत्याकामा मात्रै ५४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ३४३, ललितपुरमा १३६ र भक्तपुरमा ६२ रहेका छन् ।
नौ वटा जिल्लामा कोरोनाका ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की र सुर्खेतमा कोरोनाका ५०० भन्दा बढी सक्रिय सक्रमित रहेको मन्त्रालयले जनाएको छ । यस्तै २०० भन्दा भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्ला २५ वटा छन् । यो सूचीमा धनुषा, बारा, सप्तरी, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, स्याङजा, बागलुङ, पर्वत, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, रुपन्देही, बर्दिया, पाल्पा, दाङ, बाँके, नवलपरासी पश्चिम, जुम्ला, कैलाली र कञ्चनपुर छन् ।
काठमाडौंमा भेरोसेल खोप अभियान स्थगित
खोपको मौज्दात सकिएपछि काठमाडौं जिल्लामा भेरोसेल खोप अभियान स्थगित भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले शुक्रबार एक विज्ञप्ति जारी गर्दै खोप सकिएकाले तत्काल अभियान स्थगित गर्नुपरेको जनाएको हो । साउन २ गतेसम्म भेरोसेल लगाउने भनिएकोमा अर्को सूचना नभएसम्म अभियान रोकिएको विज्ञप्तिमा भनिएको छ ।
यसैबीच, उत्तरी छिमेकी मुलुक चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले थप परिमाणमा खोप उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको थियो । यसअघि पनि चीनले नेपाललाई दुई पटक गरेर १८ लाख डोज खोप सहयोग गरिसकेको छ भने नेपालले चीनसँग ४० लाख खोप खरिद गर्ने सम्झौता गरिसकेको छ । सो सम्झौताअनुसार १० लाख डोज नेपाल आइसकेको छ । थप खोप आउनेक्रम जारी छ ।
यता प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्र वृद्धि गरी सेवा दिने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री देउवाले शुक्रबार सरकारका मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई खोप केन्द्र बढाउन निर्देशन दिनुभएको हो । खोप केन्द्रहरू कम हुँदा भिडभाड बढेको गुनासोपछि आवश्यकताअनुसार खोप केन्द्र थप गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।




















