नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण जटिल बन्दै।

काठमाडौं:= नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा क्रियाशील सदस्यता वितरणको विषय जटिल बन्दै गएको छ । क्रियाशील सदस्यता नवीकरण तथा वितरणका लागि केन्द्रबाट जारी भएको न्युनतम मापदण्ड मिच्ने काम भएको भन्दै असन्तुष्ठ कार्यकर्ताहरू पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाका नेता कार्यकर्ताहरू संस्थागत निर्णय कार्यान्वयन गर्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय परिसरमा धर्ना बसेका हुन् । उनीहरूले क्रियाशील सदस्यता वितरण धाँधली भएको, पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्रविपरीत नयाँ क्रियाशिल सदस्यता वितरण गरेको दाबीसहित निर्णय सच्याउन माग गरेका छन् । धनुषा निर्वाचन क्षेत्र नम्बर १ का महासमिति सदस्य राम उदय यादवले विधि र विधानभन्दा बाहिर गएर मनपरी ढंगले सदस्यता वितरण गरिएको बताउनुभयो । उहाँले सभापतिलाई बाइपास गरेर, नगरसभापतिलाई जानकारी नै नगराई एकलौटी कब्जा गर्ने मनशायका साथ क्रियाशील सदस्यता वितरण गरिएको बताउनुभयो ।

उहाँले ३३ वटा वडामा विधान मिचेर सदस्यता वितरण गरिएको दाबी गर्नुभयो । उहाँले विधान मिचेर वितरण गरिएका सदस्यता खारेज नगरे आफूहरू आमरण अनशन बस्ने चेतावनी पनि दिनुभयो ।

त्यसैगरी, नेपाली कांग्रेस बाराका नेता तथा कार्यकर्ता पनि सदस्य वितरणमा धाँधली भएको भन्दै धर्नामा बसेका छन् । नेपाली कांग्रेस जीतपुर–७ का सभापति रामबाबु गुप्ताले आफ्नो वडाबाट मात्रै ९६ जनालाई चोरबाटोबाट सक्रिय क्रियाशिल सदस्यता थप्ने काम भएको दाबी गर्नुभयो । उहाँले त्यसबारे सम्बन्धित निकायलाई जानकारी गराई ध्यानाकर्षण गराउँदा पनि नभएपछि आफू केन्द्रमा आएर धर्ना बसेको बताउनुभयो ।

धनुषाका पूर्व-सांसद डाक्टर चन्द्र मोहन यादवले लोकतन्त्रको लामो इतिहास बोकेको पार्टीको केन्द्रीय कार्यालयमा न्याय माग्न धर्ना बस्नुपर्ने अवस्था श्रृजना हुनु बिडम्बनापूर्ण भएको बताउनुभयो । धनुषाको क्षेत्र नम्बर १ र ४ मा एकपक्षीय ढंगले नयाँ क्रियाशील सदस्यता थप्ने काम भएको भन्दै त्यो नसच्चिएसम्म आफूहरू पार्टी कार्यालयमा धर्ना बस्ने बताउनुभयो ।