नेपाली कांग्रेस विपद् व्यवस्थापन समितिले बाढीपीडितलाई प्रतिपरिवार २५ हजार दिने।

काठमाडौं:= नेपाली कांग्रेसको बाढी-पहिरोपीडित विपद् व्यवस्थापन समितिले २०७८ वैशाखदेखि यताका बाढी-पहिरोपीडितको परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँ दिने भएको छ ।

बाढी-पहिरोपीडित विपद् व्यवस्थापन समितिको बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा संयोजक मोहन बस्नेतले तत्कालका लागि प्रतिपरिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभएको हो । बाढी-पहिरोपीडितको उद्धार तथा राहतको सम्बन्धमा सरकारलाई पार्टीको तर्फबाट कुनै पनि किसिमको भूमिका निर्वाह गर्नुपर्ने परिस्थितिमा सहज होस् भन्ने उद्देश्यका साथ यही असार ४ गते बसेको केन्द्रीय समिति बैठकले बाढी-पहिरोपीडित विपद् व्यस्थापन केन्द्रीय समिति गठन गरेको थियो ।

बाढी-पहिरोलगायत प्राकृतिक विपद् सधै आइरहने भएकाले नियमित क्यालेण्डर जस्तै गरी व्यहोर्नु परेकाले यसको व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्य साथ समिति बनेको बताउनुभयो । उहाँले समितिले २०७८ साल यता बाढीपहिरो पीडितहरूलाई मृतकका परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँ दिने निर्णय गरिसकेकाले त्यसका लागि स्रोत जुटाउने विषयमा समितिमा छलफल हुने बताउनुभयो । उहाँले मुलुकभरबाट बाढी तथा पहिरोले पुर्‍याएको भौतिक र मानवीय क्षतिबारे तथ्यांक संकलन गरी राहत उपलब्ध गराइने जानकारी दिनुभयो ।

उहाँले समिति गठन गर्दा कांग्रेस सरकारमा नभएको र अहिले सरकारमा पुगेकाले अझै समितिको दायित्व बढेको बताउनुभयो। बस्नेत संयोजकत्वको समितिमा सहसंयोजक दिव्यमणि राजभण्डारी, सचिवमा किरण गिरी, कोषाध्यक्षमा कल्पना चौधरी हुनुहुन्छ ।

त्यसैगरी, समितिका सदस्यहरूमा भूमिबहादुर गुरुङ, रामबहादुर विष्ट, बहादुर सिंह थापा, राजीव विक्रम, तीर्थबहादुर लामा, ललितजंग शाही, देवराज चालिसे, नगिना यादव हुनुहुन्छ । त्यसैगरी, आमन्त्रित सदस्यहरूमा पूर्व गृहसचिव जनार्दन नेपाल, दीर्घबहादुर केसी, चेतनाथ ढकाल रहनुभएको छ । सबै पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरू सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मनोनित गर्नुभएको हो ।