काठमाडौं:= पछिल्लो समय खुकुलो बनाइएको निषेधाज्ञा साउन १० गतेसम्म लम्बाइएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० सम्मलाई निरन्तरता दिइएको हो ।
काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधका केही प्रावधानहरूलाई थप खुकुलो बनाउँदै साउन १० गतेसम्मलाई निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । सबै प्रकारका सभा सम्मेलनलगायत मानिसहरू भेला हुने कार्य गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ । यस्तै, बाहिरी जिल्लाबाट अनावश्यक रूपले प्रवेश गर्न कडाइ गरिने बताइएको छ । अत्यावश्यक कामका लागि काठमाडौं आउनुपर्ने अवस्थामा अन्य जिल्लाबाट पास लिइरहनुपर्ने छैन ।
थप गरिएको निषेधाज्ञामा सबै प्रकारका पसलहरू बेलुका ७ बजेसम्म खोल्न पाइने भएको छ भने निजी र सार्वजनिक सवारीका साधनहरू पनि साबिककै अवस्थामा सञ्चालन हुनेछन् ।
निषेध गरिएका गतिविधिमा सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, नाचघर, क्लबलगायत धेरै मानिस भिडभाड हुने क्षेत्र रहेका छन् । यस्तै, खुला स्थानमा मानिसहरू भेला भई भिडभाड गर्न, जुलुस, जात्रा, महोत्सव, भोज–भतेरलगायतका क्रियाकलाप पनि गर्न पाइने छैन ।
यसैगरी, पूजारीबाट हुने नृत्य पूजा बाहेकका अन्य धार्मिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्न पाइने छैन भने शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा पठनपाठन गराउन पाइने छैन । त्यस्तै, स्थानीय ढुवानी विहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन ।
नेपालमा कोरोना संक्रमण दर २०.९५ प्रतिशत
बिहीबार थप दुई हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १२ हजार ७६८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ७६७ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार आठ हजार २५६ जनामा पिसिआर परीक्षण गर्दा एक हजार ७८२ र चार हजार ५१२ जनाको एन्टीजेन परीक्षण गर्दा ८९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या सात लाख नौ हजार ३४७ पुगेको छ । तीमध्ये ६ लाख २५ हजार ५७० जना संक्रमण मुक्त भएका छन् । संक्रमण दर २०.९५ प्रतिशत छ । काठमाडौं उपत्यकामा बिहीबार थप ५५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३३९, ललितपुरमा १३४ र भक्तपुरमा ८० जना कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार थप एक हजार ७५७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो समय देशभर २६ हजार ३३९ जना सक्रिय संक्रमित छन् तीमध्ये २४ हजार २५ जना संक्रमित होम आइसोलेसन र दुई हजार ६१४ संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलसनमध्ये ६०२ जना आइसियुमा र १७१ जनाको भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमित प्रतिशत ४.०२ प्रतिशत छ ।
बिहीबार थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सिसिएमसी, नेपाली सेनाद्वारा कोभिड–१९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या नौ हजार ४६३ पुगेको छ ।




















