एजेन्सी (दक्षिण कोरिया) := दक्षिण कोरियामा न्युनतम ज्यालामा वृद्धि भएको छ । पटक पटक बसेको ज्याला निर्धारण समितिको बैठकले यो निर्णय गरेको हो । उक्त समितिमा सरकार प्रतिनिधि, मजदुर संगठनका प्रतिनिधि र उद्योगी व्यावसायीका प्रतिनिधि रहने गर्दछन् । निर्णय अनुसार सन २०२२ जनवरीदेखि लागु हुने गरी साविक ज्यालामा ५ प्रतिशत अर्थात ४ सय ४० वन वृद्दि भएको हो ।
वृद्धिअनुसार मजदुरले अब प्रतिघन्टा ८ हजार ७ सय २० वन बाट बढेर ९ हजार १ सय ६० वन तलव पाउनेछन् । सन २०२२ देखि महिनामा २०९ घन्टा काम गर्नेले न्युनतम १९ लाख १४ हजार ४ सय ४० वन पाउनेछन् । नेपाली कामदारले अहिलेको एक्सचेन्ज रेट अनुसार न्युनतम १ लाख ९० हजार रुपैयाँभन्दा बढि बेसिक तलव थाप्नेछन् । ज्याला निर्धारण समितिबाट ज्याला वृद्धिको निर्णय गरेता पनि संसदबाट पास भएपछि आगामी २०२२ जनवरी १ देखि लागु हुनेछ ।
मजदुर संगठनले भने १० हजार वन भन्दा बढि वृद्धि हुनुपर्ने प्रस्ताव राखेका थिए । तर सरकार र व्यावसायीले ज्याला धेरै वृद्धि गर्न सहमत नभएपछि मजदुर संगठन केसिटियु लगायतले कम ज्याला वृद्धि गरेकोमा सरकार र कम्पनी व्यावसायीको घोर विरोध गरेको आप्रवासी मजदुर संगठन (MTU) का अध्यक्ष उदय राईले बताएका छन् । न्युनतम ज्याला वृद्दिका लागि दक्षिण कोरिय मजदुर संगठन ( KCTU), आप्रवासी मजदुर संगठन (MTU) लगायत मजदुर संघ संगठनले निरन्तर धर्ना, दवाव दिईरहेका थिए ।




















