जोकोभिचले जिते २० औं ग्राण्डस्लाम।

एजेन्सी (लण्डन) := विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिचले करिअरको २०औं ग्राण्डस्लाम उपाधि जित्नुभएको छ । लण्डनमा आइतबार राति भएको विम्बल्डन टेनिसको उपाधि जितेर उहाँले यो उपलब्धि हासिल गर्नुभएको हो ।

लण्डनमा आइतबार राति भएको फाइनलमा इटालीका माटियो बेरेटिनीलाई पराजित गर्दै जोकोभिच च्याम्पियन बन्नुभएको हो । उपाधि जित्ने क्रममा जोकोभिचले सातौं बरियताका माटियो ६-७(४-७),६-४,६-४ र ६-३ को सेटमा पराजित गर्नुभयो ।

यससँगै जोकोभिचले विम्बल्डनको उपाधिमात्रै छैटौंपटक जित्नुभएको छ । जोकोभिचको लगातार दोस्रो विम्बल्डन उपाधिसमेत हो । ३४ वर्षीय जोकोभिचले १५ हजार दर्शकबीच उपाधि उचाल्नुभएको थियो । योसँगै उहाँले २०२१ मा मात्रै तीनवटा ग्राण्डस्लाम जितिसक्नुभएको छ । यसअघि उहाँले अष्ट्रेलियन ओपन र फ्रेन्च ओपनको उपाधि जितिसक्नुभएको छ ।

‘विम्बल्डनको उपाधि जित्नु जहिले पनि मेरा लागि ठूलो सपना थियो,’ उपाधि जितेपछि जोकोभिचले भन्नुभयो, ‘यो उपाधि म राफा र रोजरलाई समर्पण गर्न चाहन्छु । उहाँहरू लिजेन्ड खेलाडी हुनुहुन्छ । उहाँहरूकै कारण म यस स्थानमा छु । पछिल्लो एक दशक मेरा लागि अत्यन्तै सुन्दर रहे । म यही सफलता फेरि दोहोर्‍याउन चाहन्छु ।’

जोकोभिचले स्विस स्टार रोजर फेडेरर र स्पेनिस स्टार राफायल नाडालले बनाएको सर्वाधिक ग्राण्डस्लाम जित्ने खेलाडीको कीर्तिमानसँग बराबरीसमेत गर्नुभएको छ ।

महिलातर्फको उपाधि विश्व नम्बर एक अष्ट्रेलियाकी अस्लेइग बार्टीले जितिसक्नुभएको छ । विश्व नम्बर एक अष्ट्रेलियाकी अस्लेइग बार्टीले लण्डनमा शनिबार भएको फाइनलमा चेक रिपब्लिककी कारोलिना प्लिस्कोभालाई हराउँदै ४१ वर्षपछि च्याम्पियन बन्ने अष्ट्रेलियन महिलासमेत बन्नुभएको हो ।

उपाधि जित्ने क्रममा २५ वर्षीय बार्टीले कारोलिनामाथि ६-३ र ६-७ (४-७) र ६-३  को नतिजा निकाल्नुभएको थियो । उपाधि जितेपछि आँखाभरि आँसुका साथ उहाँले यो यात्रा अविश्वसनीय भएको बताउनुभयो । गत महिनामात्रै उहाँले थाइको समस्याका कारण फ्रेन्च ओपनबाट हात झिक्नुपरेको थियो ।