पोर्टऔप्रिन्स:= हाइटीको अन्तरिम राष्ट्रपतिमा जोसेफ लाम्बार्ट चयन हुनु भएको छ । लाम्बार्टलाई राष्ट्रपति नियुक्ती गर्नुपर्ने प्रस्ताव त्यहाँको सिनेटबाट पारित गरिएको बताइएको छ ।
गत बुधबार जोभेनल मोइजलाई उहाँकै निवासमा गोली हानेर हत्या गरिएपछि राष्ट्रपति पद रिक्त थियो । राष्ट्रपति नियुक्त गर्नुपर्ने संकल्प प्रस्ताव सिनेटमा लगिएपछि प्रतिपक्षी दल र अन्य संगठनलेसमेत समर्थन गरेका थिए । हाइटको संसदमा अहिले एक तिहाइ सदस्यमात्रै छन् ।
हाइटीको केही राजनीतिक दलले भने एरियल हेनरीले नयाँ सरकारको नेतृत्व गर्नुपर्ने भन्दै ज्ञापन पत्र बुझाएका छन् । राष्ट्रपति जोभेनेलले हत्या हुनुभन्दा दुई दिनअघिमात्रै हेनरीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।
तर, हेनरी कार्यभार सम्हाल्न नसकेको र संक्रमणकालीन प्रधानमन्त्री क्लाउड जोसेफले नै आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नुपर्ने कही राजनीतिक दलले माग गरेका छन् । जोसेफ सेप्टेम्बर २६ का लागि निर्धारित राष्ट्रपति र संसदीय चुनाबसम्म आफैं प्रधानमन्त्री रहन अन्तर्राष्ट्रिय समुदायको समर्थन खोज्नुभएको छ ।




















