स्वास्थ्य र शिक्षाका लागि विश्व बैंकको १२ अर्ब सहयोग।

काठमाडौं:= विश्व बैंकले नेपालको स्वास्थ्य र शिक्षाका लागि करिब १२ अर्ब रुपैयाँ अर्थात् सय मिलियन अमेरिकी डलर बराबर सहयोग गर्ने भएको छ । विश्व बैंकको कार्यकारी समितिले बिहीबार उक्त सहयोग रकम स्वीकृत गरेको हो । शिक्षा क्षेत्रमा ५० मिलियन अमेरिकी डलर र स्वास्थ्य क्षेत्रमा समान ५० मिलियन अमेरिकी डलर बराबरको सहयोग प्राप्त हुने विश्व बैंकले जनाएको छ ।

उक्त सहयोग रकम सरकारी विद्यालय गुणस्तर सुधार कार्यक्रम र स्वास्थ्य क्षेत्रको सार्वजनिक स्रोत व्यवस्थापनमा खर्च हुने बताइएको छ । विश्व बैंकका श्रीलंका, माल्दिभ्स र नेपाल निर्देशक फारिस हदाद जर्भोसले मानव पुँजी विकासका लागि नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रले ठूलो महत्व राख्ने र मुख्य गरी आर्थिक विपन्न र ग्रामीण जनसंख्यालाई लक्षित गरी यस्तो कार्यक्रम ल्याइएको बताउनुभएको छ ।

महामारीका कारण शिक्षा क्षेत्रमा परेको प्रभाव व्यवस्थापन र बालबालिकालाई पुनः विद्यालय फर्कने वातावरण बनाउन कार्यक्रमले सहयोग गर्ने निर्देशक जर्भोसको भनाइ छ । स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माण र पहुँचयोग्य तथा भरपर्दो सेवा उपलब्ध गराउनु पनि कार्यक्रमको लक्ष्य रहेको उहाँले बताउनुभयो । विश्व बैंकले करिब छ अर्ब बराबर सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार कार्यक्रमका लागि छुट्याएको छ ।

विश्व बैंकले ‘नेपाल्स हेल्थ सेक्टर स्ट्राटेजी’ कार्यक्रमको समयसीमा एक वर्ष थप गरिने जनाउँदै उक्त कार्यक्रमले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्वास्थ्य क्षेत्रको एकीकृत रणनीतिक कार्यक्रम तर्जुमा गर्न सहयोग पु¥याउने उल्लेख गरेको छ । अघिल्लो हप्तामात्र नेपालले कोरोनापछिको पुनस्र्थापना कार्यक्रमका लागि विश्व बैंकसँग १६ अर्ब रुपैयाँ बराबर ऋण सम्झौता गरेको थियो । विश्व बैंकले नेपालसहित ५० मुलुकको खोप कार्यक्रमका लागि चार अर्ब डलर खर्चिने पहिल्यै घोषणा गरिसकेको छ ।