काठमाडौं := नेपाल उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना हुने एएफसी यू-२३ एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । एसियन फुटबल फेडेरेसन (एएफसी) ले शुक्रबार सार्वजनिक गरेको छनोटको समूह विभाजनमा नेपाल समूह बी मा परेको हो । एएफसीले वेस्ट जोन र इस्ट जोनको छनोटमा सहभागी ४२ टोलीलाई ११ समूहमा विभाजन गरेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् ।
ताजिकिस्तानमा हुने समूह ‘बी’ छनोट खेल आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ । सार्वजनिक तालिका अनुसार नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग खेल्नेछ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग खेल्दा अन्तिम खेल लेबनानसँग खेल्नेछ ।
छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।
एएफसीले शुक्रबार सार्वजनिक गरेको समूह ड्र अनुसार नेपालको समूहमा ताजिकिस्तानसँगै इरान र लेबनान रहेका छन् । प्रत्यक समूहको शीर्ष टोलीले सिधै अन्तिम प्रतियोगितामा स्थान बनाउने छन् । त्यस्तै दोस्रो स्थान हासिल गर्ने शीर्ष चार टोली पनि छनोट हुनेछन् ।
एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४२ टोलीलाई ११ समूहमा विभाजन गरेको छ । पूर्वका १९ र पश्चिम क्षेत्रका २३ गरेर तीन वा चार टोलीसहितको ११ समूह निर्धारण गरिएको हो । प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म उज्बेकिस्तानमा हुनेछ । छनोट चरणका खेल भने २०२१ अक्टोबरमा हुँदैछ ।
नेपालले हालसम्म एएफसीको यू-२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहिन हुँदै छनोटबाट घर फर्केको थियो । दुवै संस्करणमा नेपालले गोल गर्न सकेको थिएन ।
प्रतियोगिताको पाँचौ संस्करणमा आइपुग्दा इराक, जापान, उज्बेकिस्तान र दक्षिण कोरियाले १–१ पटक उपाधि जितेका छन् । साविक विजेता दक्षिण कोरिया सन् २०१६ मा उपविजेता समेत रहेको थियो । गत संस्करणमा पराजित साउदी अरेबिया भने २०१३ मा भएको पहिलो संस्करणमा पनि फाइनलमा हारेको थियो ।




















