सलमानसहित आठजना विरुद्ध उजुरी।

एजेन्सि(मुम्बई):= बलिउड अभिनेता सलमान खान, उनकी बहिनी अलविरा खान र उहाँको कम्पनी बिइङ हृयुमनसहित आठविरुद्ध चण्डीगढका एक व्यापारीले उजुरी दिनुभएको छ।

ती व्यापारीले बिइङ हृयुमनको शोरूम खोलेपछि कम्पनीले दिल्लीबाट सामान नपठाएको र कम्पनीको साइट पनि बन्द गरेको उल्लेख गर्नुभएको छ । प्रहरी अधिकारीले सलमान, अलविराका अलावा कम्पनीका सिइओ प्रसाद कपारे र अन्य अधिकारीहरू सन्तोष श्रीवास्तव, सन्ध्या, अनुप, सञ्जय रंगा, मानव र आलोकलाई पत्र पठाउनुभएको छ ।

उजुरीकर्ता व्यापारी अरुण गुप्ताले सलमानको भनाइनुसार आफूले मनिमाजराको एनएसी एरियामा करिब ३ करोडको लागतमा बिइङ हृयुमन ज्वेलरी शोरूम सुरु गरेको उल्लेख गर्नुभएको छ। उहाँले शोरूम सुरु गर्न स्टाइल क्विन्टेट ज्वेलरीसँग सम्झौता गरे पनि शोरूम खुलेपछि कसैले सहयोग नगरेको उल्लेख गर्नुभएको छ । बिइङ हृयुमनको जुन ज्वेलरी स्टोर अरुणलाई दिने भनिएको थियो, त्यो अहिले बन्द छ । जसकारण उहाँले सामान पनि पाउनु भएको छैनन्।

व्यापारीको उजुरी परेपछि प्रहरीले सबैलाई १० दिनभित्र जवाफ दिन भनेको छ । अरुणका अनुसार सलमानले उहाँलाई ‘बिग बोस’को सेटमा बोलाएर कम्पनी खोल्नका लागि आफूले सहयोग गर्ने आश्वासन दिनुभएको थियो । अरुणले सलमानले शोरूमको उद्घाटन गरिदिने बताएको दाबी गर्नुभयो।