काठमाडौं := यहि भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुन गइरहेको नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि नेतृत्वका आकांक्षीहरुले धमाधम उम्मेद्वारी घोषणा गरिरहेका छन्।
यसै क्रममा, युवानेता भीष्मराज आङ्दम्बे सहमहामन्त्रीमा प्रतिस्पर्धा गर्ने भएका छन्। उनी आदिवासी जनजाति कोटाबाट सहमहामन्त्रीमा प्रतिस्पर्धा गर्ने तयारीमा छन्। यसका लागि जिल्ला तहका नेताहरुसँग उनले छलफल अघि बढाएका छन्।
पूर्बी पाँचथरमा जन्मेका आङ्दम्बे नेविसंघमा सक्रिय हुँदै कांग्रेसको राजनीतिमा होमिएका हुन्। पार्टी प्रतिबन्धित कालमा नेविसंघको केन्द्रीय सदस्य भएका उनले पूर्बाञ्चलको कमाण्ड संहालेका थिए। त्यसपछि नेपाल तरुण दलको उपाध्यक्ष बनेका उनी २०५९ देखि निरन्तर कांग्रेस केन्द्रीय सदस्य छन्।
पार्टीको आदिवासी जनजाति बिभागको संयोजक भएर उनले जनजातिका मुद्धालाई सम्बोधन गर्ने काम गरेका थिए। त्यसैले जनजातिहरुका माझ उनको अलग पहिचान रहेको छ। संविधान सभाबाट सविधान जारी गर्ने बेलामा जातीय मुद्धा जटिल बिषय बनेको थियो।
त्यतिबेला द्धन्द मेटिने, पहिचान भेटिने समाज निर्माणका लागि पार्टीमा उनले खेलेको भूमिका प्रशंसनीय रहेको थियो। बिषयबस्तुलाई गहिरो ढंगबाट अध्ययन गर्ने स्वभाबका कारण जनजातिमाझ मात्र होइन, उनलाई सबैले आशाबादी नेताका रुपमा हेर्ने गरेका छन्।
२०७० को दोस्रो संविधान सभा चुनाबमा पाँचथर २ बाट निर्वाचित भएका आङ्दम्बेले संविधान सभाको बिषयगत समितिको सभापति भएर काम गरेका थिए। कांग्रेस नेता आङ्दम्बे हाल पार्टीकाे केन्द्रीय अनुशासन समितिका संयोजक हुन्।
कांग्रेसमा उनीभन्दा जुनियर कतिपयले लाभको पद हासिल गरिसकेका छन्। तर आङ्दम्बे अहिलेसम्म लाभको पदमा गएका छैनन्। चाकडी र चाप्लुसी गर्न नरुचाउने उनको स्वभाब छ। कतिपय जुनियरहरु चाकडी र चाप्लुसीका भरमा पदमा पुगेपछि आर्थिक रुपमा ठूलै फड्को मारेका छन्। जसलाई नेपाली समाजमा सफल भएको रुपमा अथ्र्याउँने चलन छ। तर उनी आर्थिक फड्को मार्नुलाई नै सफल मान्दैनन्। सादा जीवन उनको पहिचान हो। #स्पेश खबर




















