काठमाडौं := नेपाल-चाइना ट्रेड एन्ड इन्डस्ट्रियल एसोसिएसनले दोलखा प्रहरीलाई विपद न्यूनीकरणका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ । एसोसिएसनले बुधबार एक कार्यक्रमबीच लाइफ ज्याकेट, ट्रेकिङ ब्याग, रेनकोट, गमबुट, कोदालो, खानेपानी प्रशोधन, करौंती, प्राथमिक उपचार सामग्री, त्रिपाल, डोरीलगायतका सामग्रीहरू हस्तान्तरण गरेको हो ।
एसोसिएसनकी अध्यक्ष अञ्जु पौडेलले दोलखा जिल्लामा यस वर्ष हालसम्म विपद नआएको र आइहालेमा व्यवस्थापनका लागि पूर्वतयारीस्वरूप सामग्री उपलब्ध गराइएको बताउनुभयो । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यसम्पादन समिति सदस्य शोभित उप्रेतीले पनि स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्नुभएको छ ।
१० लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको एसोसिएसनकी अध्यक्ष अञ्जु पौडेलले बताउनुभएको छ । एसोसिएसनले नेपालमा आइपर्ने विभिन्न आपत्कालीन अवस्थामा सहयोग गर्दै आएको जनाएको छ । यसअघि पनि मेलम्चीका बाढीपीडितलाई आवश्यक राहत सामग्री वितरण गरिएको जनाएको छ । चीनमा कार्यरत नेपाली व्यवसायीले सहयोगस्वरूप प्रदान गरेका सामग्रीहरू हस्तान्तरण गरिएको बताइएको छ ।




















