बाजुरामा खाद्यान्न अभाव, चामल लिन ३ दिन हिड्दा पनि रितो हात फर्किनुपर्ने।

बाजुरा := वर्षाका बेला विभिन्न बहाना बनाएर ठेकेदारले ढुवानी नगरेपछि, बाजुरा जिल्लाको हिमाली क्षेत्रमा खाद्यान्न अभाव भएको छ। हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा ठेकेदारले सम्झौता भएको वर्ष दिनसम्म पनि चामल ढुवानी नगर्दा महिना दिनदेखि चरम खाद्य संकट भएको हिमाली गाउँपालिका–३ का वडा अध्यक्ष धनलाल रोकायाले बताए। अनुदानको चामल ढुवानी नभएपछि हिमाली गाउँपालिका १, २, र ३ को बिच्छँया, ४ र ५ को रुगीनमा खाद्य संकट भएको वडा अध्यक्ष रोकायाले बताए ।

हिमाली गाउँपालिका–१ बिच्छँयाका धर्मलाल रोकाया तीन दिन हिँडेर कवाडी अस्थायी डिपोमा चामल किन्न पुुगे। ‘तर, डिपोमा एक दाना पनि चामल नपाएपछि रित्तो हात फर्कें, चामल नपाएपछि सिस्नो कन्दमूल गिठ्ठा भ्याकुरले छाक टार्नुपर्ने भएको छ’, रोकायाले भने । हिमाली गाउँपालिका–१ बिच्छँयाबाट चामल किन्न २५ जना आएको तर चामल नपाएपछि रित्तो हात घर फर्किन लागेको उनले बताए । ‘हामी चामल पाइन्छ भनेर आएका हौं, तर नपाए पछि घर फर्किंदै छौं’, उनले भने ।

त्यहाँबाट आउने सर्वसाधारणले वर्षाका बेला खाद्यान्न अभाव भएको भन्दै गुनासो गरेका छन्। ‘तीन दिन लगाएर कवाडी डिपो पुग्यौं, चामल पाएनौं । अबको विकल्प कोल्टीको खाद्यमा हो, कोल्टी पुुग्न फेरि एक दिनको पैदल हिँड्नुपर्ने हुन्छ’, घरबाट साहूसँग चार हजार सापटी ऋण निकालेर चामल किन्न आएका चन्द्रबहादुर बुढ्थापाले बताएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।