एमस्टर्डम:= नेदरल्याण्ड्सका प्रतिष्ठित अपराध पत्रकार पिटर आर डी भ्रिसमाथि गोली प्रहार भएको छ । उहाँमाथि आम्सटर्डामको सडकमा गोली प्रहार भएको हो । सिटी सेन्टरमा स्थानीय समयानुसार मंगलबार साँझ उनीमाथि गोली प्रहार भएको हो ।
६४ वर्षीय पिटर आर डे भ्रेजमाथि टेलिभिजन स्टुडियोबाट बाहिरिएको केही मिनेटभित्रै गोली प्रहार गरिएको थियो । नजिकबाट पाँच गोली प्रहार गरिएकोमा उहाँको टाउकोमा एक गोली लागेको छ । उहाँको अवस्था चिन्ताजनक रहेको र अस्पतालमा उपचारका लागि भर्ना गरिएको बताइएको छ । गोली लागेको केही समयअघि उहाँ टेलिभिजन पर्दामा सन् २०१९ को एकजना नाईको हत्या सम्बन्धी घटनाबारे छलफल गर्नुभएको थियो ।
पत्रकार पिटर आफ्नो अनुसन्धानमूलक समाचारका लागि प्रख्यात हुनुहुन्छ । लागू औषधमाथि कलम चलाउने उहाँको समाचारपछि उच्च व्यक्तिको संलग्नता रहेको कतिपय मुद्दामा प्रहरीलाई सफलतासमेत प्राप्त भएको छ ।
एमस्टर्डमका मेयर फेम्के हाल्सेमाले दुर्घटनाबाट स्तब्ध भएको र कारणबारे खोजबिन गर्न प्रहरी अधिकारीलाई निर्देशन दिइएको बताउनुभएको छ । घटनामा संलग्नताको आरोपमा तीनजना पक्राउ परेका छन् । प्रहरीले प्रत्यक्षदर्शी र सिसिटिभी फुटेजका लागि अपील गरेको छ । तर, कुनै पनि सामग्री सामाजिक सञ्जामा साझा नगर्न आग्रह पनि भनिएको छ ।




















