डेनमार्कलाई २-१ गोलले हराउँदै इङग्ल्याण्ड पहिलो पटक युरो कपको फाइनलमा।

एजेन्सी := यूईएफए युरो कप अन्तर्गत आज बिहान सम्पन्न सेमिफाइनल खेलमा डेनमार्कलाई हराउँदै इङ्ग्ल्याण्ड फाइनलमा प्रवेश गरेको छ। लण्डनस्थित वेम्बली स्टेडियममा सम्पन्न खेलमा डेनमार्कमाथि २-१ अन्तरले पुनरागमन जित निकाल्दै इङ्ग्ल्याण्डले फाइनलमा स्थान सुरक्षित गरेको हो।

वेम्बली स्टेडियममा भएको खेलमा इङ्ग्ल्यान्डका कप्तान ह्यारी केनले एक गोल गरे । इङ्ग्ल्यान्डले एक गोल आत्मघाती उपहार पाएको थियो । डेनमार्कका मिकेल डाम्सगार्डले एक गोल गरे । डेनमार्कले खेलको ३० औं मिनेटमा डाम्सगार्डले गरेको गोलबाट अग्रता बनाए पनि जोगाउन सकेन ।

खेलको ३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोन क्येरले  आत्मघाती गोल गरेपछि खेलमा १–१ को बराबरी भयो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १ सय ४ औं मिनेटमा इङ्ग्ल्यान्डका कप्तान केनले गोल गरे ।

पहिलो पटक युरो कपको फाइनलमा पुगेको इङ्ग्ल्यान्ड र सेमिफाइनलमा स्पेनलाई हराएर फाइनलमा पुगेको इटली उपाधिका लागि आइतवार खेल्नेछन् ।