देशको विविधतालाई मनमुटाव र द्वन्द्वको विषय बनाउन हुँदैन: प्रधानमन्त्री ओली।

काठमाडौं := प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विविधतालाई मनमुटाव र द्वन्द्वको विषय बनाउन नहुने जोड दिनुभएको छ । सप्तरीको राजविराजमा बन्न लागेको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको मंगलबार भुर्चअल शिलान्यासपछि कार्र्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘हाम्रो देशमा भौगोलिक, प्राकृतिक, सामाजिक, जैविक, भाषिक विविधता छ । यो हाम्रो सम्पदा, सम्पन्नता हो, समृद्धि हो । यसलाई हामीले मनमुटावको विषय बनाउनुहुन्न । द्वन्द्वको विषय बनाउनुहुन्न ।’

सबैथरि जनता मिलेर नै देशको विकास गर्नु प्रमुख कर्तव्य भएको बताउँदै उहाँले भन्नुभयो, ‘अब देशभित्र रोजगारीका अवसरहरू सृजना गर्दै छोराछोरीलाई विदेश पठाउने काम रोक्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले भ्रममा परेर दिशाहीन हुनुभन्दा विकासको गतिलाई अगाडि बढाउन सबैको योगदान हुनुपर्नेमा जोड दिनुभयो । उहाँले अब एकठाउँको मात्र नभएर हिमाल, पहाड र तराई पूर्व–पश्चिम सबैतिर विकास हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबै जातजाति, भाषाभाषीका जनताका लागि उनीहरूको विकास उन्नति र समस्या समाधान गर्नेतर्फ अग्रसर हुनुपर्छ ।’

उहाँले स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको काम चाँडै सुरु हुनेसमेत बताउनुभयो । ‘भवन निर्माणको काम छिट्टै सुरु हुनेछ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले सरकारले कृषि उत्पादनलाई विदेशमा निर्यात गर्ने स्थितिमा पु¥याएको पनि बताउनुभयो । ‘कृषिमा गुणस्तरीय उत्पादन र निर्यातका लागि काम ग¥यौँ । खेतहरूमा सिञ्चाइको प्रबन्ध हामीले गयौँ, उहाँले भन्नुभयो, ‘हामी विकास गर्न सक्छौँ । विकासका कामलाई अगाडि बढाउन सक्छौँ ।’

२०७५ भदौ १ गते प्रधानमन्त्री ओलीले प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्दै राजविराजमा गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहको नाउँमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गर्नुभएको थियो । जसका लागि राजविराज नगरपालिकाले १० नम्बर वडा बिरौलस्थित हुलाकी राजमार्गछेउमा ६२ बिघा जग्गा उपलब्ध गराएको थियो । तर, उक्त जग्गा यसअघि नै नगरपालिकाले कृषि हाट बजारका लागि लिजमा दिइसकेको भन्दै स्थानीय एक सहकारी संस्थाले दाबी गरेपछि विवाद भएको थियो ।

झण्डै १२ अर्बको लागत रहेको प्रतिष्ठान निर्माणकार्य तीव्र गतिमा बढाउने र पाँच वर्षभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिले जनाएको छ । कूल ११ अर्ब ९८ करोड रुपैयाँको लागतमा निर्माण हुने प्रतिष्ठानको काम पाँच वर्षभित्र सम्पन्न हुने प्रतिष्ठान पूर्वाधार विकास तयारी समितिका निर्देशक डा. रञ्जितकुमार झाले बताउनुभयो । कुल ११ अर्ब ९८ करोडको अनुमानित लागतमा ६२ विघा क्षेत्रफलमा प्रतिष्ठान निर्माण हुन लागेको हो ।

यस्तै, प्रधानमन्त्री ओलीले सुनकोशी मरिन डाइभर्सन र पूर्वी क्षेत्रका लागि सुनकोशी कमला डाइभर्सन निर्माण गरी सिञ्चाइ सुविधा पु¥याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताउनुभएको छ । उहाँले उत्तर दक्षिण रेलमार्गसँगै चाँडै बर्दिवाससम्म रेल पु¥याउने बताउँदै केही दिनभित्रै रेल सेवा सञ्चालन हुने प्रतिबद्धता जनाउनुभयो । पूर्व–पश्चिम रेलमार्गको निर्माण कार्य पनि चाँडै अघि बढ्ने बताउँदै रेलमार्गको तयारी भइरहेको उहाँको भनाइ छ ।

शिलान्यास कार्यक्रममा राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेल, मधेश आयोगकी सदस्य आभासेतु सिंह, पूर्व सिंचाई मन्त्री उमेशकुमार यादव, राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादव, नेकपा एमालेका केन्द्रीय सदस्य सुखराम यादव, राजविराज नगरपालिकाकी उप–मेयर साधन झा, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली लगायतको उपस्थिति रहेको थियो ।