एजेन्सी := यूईएफए युरो कप अन्तर्गत राती सम्पन्न पहिलो सेमिफाइनल खेलमा इटलीले स्पेनलाई हराएको छ। इङ्ग्ल्याण्डको स्थित वेम्बलीमा सम्पन्न खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै इटलीले फाइनलमा स्थान बनाएको हो।
खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमा १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । खेलको ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ८० औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा फर्काए । इटलीले सुरुवाती अग्रता जोगाउन सकेन।
पेनाल्टी सुटआउटमा इटलीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे । म्यानुएल लोकाटेलीले भने गोल गर्न सकेनन् । स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे । तर, डानिल ओल्मो र अल्भारो मोराटाले गोल गर्न सकेनन्।
यो जितसँगै इटली उपाधि नजिक पुगेको छ । अब इटलीले उपाधिका लागि इङ्ग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इङ्ग्ल्यान्ड र डेनमार्कको खेल आज राति पौने एक बजे वेम्बलीमा हुँदैछ ।




















