काठमाडौं := कोरोना महामारीका कारण वैदेशिक रोजगारीको क्रममा रोजगारी गुमाएकालाई स्वरोजगार बनाउने उद्देश्यका साथ सुरु गर्न खोजिएको पुनर्एकीकरण योजना अलमलमा परेको छ।
सरोकारवाला निकायले व्यापक रूपमा आवाज उठाएपछि पाँच महिना पहिले वैदेशिक रोजगार बोर्डले पुनर्एकीकरणका लागि पहल थालेको थियो। तर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय कोरोना महामारीमा रोजगारी गुमाउनेप्रति संवेदनशील हुन नसक्दा पुनर्एकीकरण योजना अघि बढ्न नसकेको गुनासो गरिएको छ।
पहिलो लहरको कोरोना महामारीका कारण समस्यामा परेर वैदेशिक रोजगारीबाट फर्केकालाई लक्ष्य गरी पुनर्एकीकरण योजना बनाउन पहल गरिएको थियो। दोस्रो लहरको महामारी नियन्त्रणउन्मुख हुँदा पुनर्एकीकरण योजना अघि बढ्न नसकेपछि अब बन्ने त्यस्ता योजनाको के अर्थ भन्ने प्रश्न गर्न थालिएको छ। बोर्डले पुनर्एकीकरण सम्बन्धी निर्देशिकाको मस्यौदा तयार पारी स्वीकृतिका लागि मन्त्रालयमा पठाएको थियो।
उक्त निर्देशिका तुरुन्तै कार्यान्वयनमा जाने अपेक्षा गरिएको बेला अनावश्यक अलमल गरेको भन्दै सर्वसाधारणले आक्रोश व्यक्त गरेका छन्। सात महिनाअघि रोजगारी गुमेका कारण दुबईबाट फर्केका धादिङका राजन बुर्लाकोटीले पुनर्एकीकरण योजना पर्खंदा पर्खंदा हैरान भइसकेको बताए।
‘सरकारले महामारीका कारण समस्यामा परेका अधिकांश उद्योग, व्यवसायलाई सहयोग गरेको देखिन्छ,’ उनले भने, ‘तर वैदेशिक रोजगारीमा समस्यामा परेकालाई कुनै सहयोग नगर्दा दुःख लागेको छ।’ रोजगारी गुमाएर फर्कंदा समेत सरकारले निकै महँगो हवाई भाडा तोकेको बताउने बुर्लाकोटीले श्रमिकका आफन्त पहुँचवाला निकायमा नहुँदा हेपाहा व्यवहार भइरहेको गुनासो गरे।
पुनर्एकीकरण निर्देशिका बन्ने तयारी हुँदै गर्दा मन्त्रालयबाट भने तीनजना मन्त्री बाहिरिएका छन्। रामेश्वरराय यादव श्रममन्त्री हुँदा स्वीकृतिका लागि पुनर्एकीकरण मस्यौदा मन्त्रालयमा पुगेको थियो। त्यसपछि श्रममन्त्री बनेका गौरीशंकर चौधरी र विमल श्रीवास्तव पनि बाहिरिइसकेका छन्। कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा रहेको ठूलो संख्याका युवा बेरोजगार हुने ठानेर निर्देशिकाको आवश्यकता ठानिएको थियो।
वैदेशिक रोजगारीमा जाने ६० प्रतिशतले घटे
कोरोना महामारीले गर्दा निकै प्रभावित बनेको वैदेशिक रोजगारीमा जानेको संख्या ६० प्रतिशतले घटेको छ। महामारीका कारण अन्तर्राष्ट्रिय हवाई उडान बन्द, लकडाउन र निषेधाज्ञाले गर्दा वैदेशिक रोजगारीमा जानेको संख्याको घटेको हो।
नेपाल राष्ट्र बैंकले केही दिनअघि सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्षको १० महिनाको तुलनाको अवधिमा चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या ६० प्रतिशतले गिरावट आएको हो । सामान्य अवस्थामा नेपालबाट रोजगारीको अवसर खोज्दै वार्षिक करिब पाँच लाखको संख्यामा बिदेसिन्थे।
आर्थिक वर्ष २०७६/७७ को १० महिनामा नेपालबाट नयाँ श्रम स्वीकृति लिएर एक लाख ९३ हजार आठ सय ८० नेपाली बिदेसिएका थिए भने चालु आवको सोही अवधिमा ७७ हजार १२ जना बिदेसिएको राष्ट्र बैंकले जनाएको छ। आजको नागरिक दैनिकमा समाचार छ ।




















