‘मेक इन नेपाल-स्वदेशी’ अभियान सुरु।

काठमाडौं := स्वदेशी वस्तुको उत्पादन, प्रवद्र्धन र उपभोग वृद्धि गर्ने उद्देश्यका साथ अघि सारिएको  ‘मेक इन नेपाल–स्वदेशी’ अभियानको कार्यान्वयन सुरु भएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले सरकारसँगको सहकार्यमा अघि सारेकोे अभियान कार्यान्वयनका लागि स्वदेशी डटकम डट एनपी वेब पोर्टल सञ्चालनमा ल्याएको हो ।

सीएनआईका अनुसार अभियानमा आबद्ध हुन चाहने स्वदेशी उद्योग÷व्यवसायले वेब पोर्टलमार्फत् आवेदन दिन सक्नेछन् । प्राप्त आवेदनमाथि स्वदेशी कार्यसम्पादन समितिले मूल्यांकन गरी मापदण्ड पूरा गरेका व्यवसायलाई अनलाइनमार्फत् नै स्वदेशीका लागि अनुमोदन गरी थप प्रक्रिया अघि बढाउनेछ । वस्तु तथा सेवाको स्वदेशमै उत्पादन गर्ने त्यस्ता उत्पादकले अनलाइनमार्फत् नै स्वदेशीको सदस्यता प्राप्त गर्न सक्ने गरी अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको सीएनआईले जनाएको छ । अभियानअन्तर्गत वार्षिक एक हजार उद्योग दर्ता गरी कुल गार्हस्थ उत्पादनमा सन् २०२५ सम्ममा उद्योगको योगदान २२ प्रतिशत पु¥याउने, वार्षिक एक हजार औद्योगिक रोजगारी सिर्जना गर्ने र सन् २०२५ सम्ममा चार अर्ब ६० करोड अमेरिकी डलर बराबरको निर्यात गर्ने लक्ष्य राखिएको छ ।

स्वदेशी उत्पादन र उपभोग वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रको आधार तयार गर्नु नै अभियानको लक्ष्य भएको सीएनआईका अध्यक्ष सतिशकुमार मोरले बताउनुभयो । अभियानको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २४ गते गर्नुभएको थियो । अभियान कार्यान्वयनका लागि यही असार १० गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सीएनआईबीच समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।

अभियानलाई व्यापकरूपमा अघि बढाउन नेपाली वस्तु तथा सेवा प्रयोग गर्ने गरी लोगोको पहिचान गरिएको छ । नेपाली उत्पादनको गुणस्तर, परिमाण र मूल्य प्रतिस्पर्धी नभइकन अभियानले सार्थकता पाउन नसक्ने भएकाले वस्तु तथा सेवाको गुुणस्तर वृद्धि गर्नु, बजारको माग र निर्यात सम्भाव्यतासमेत हेरी उत्पादन वृद्धि गर्नु र उत्पादन लागत कम गरी मूल्य प्रतिस्पर्धी वस्तु र सेवाको र प्रवद्र्धनमा जोड दिइने सीएनआईले जनाएको छ ।