चार छात्रालाई लगातार पाँच वर्ष यौन दुर्व्यवहार, १५ वर्षपछि बाहिरियो घटना।

‘हामी त्यतिखेर आठ कक्षामा पढ्थ्यौं, १३–१४ वर्षका थियौं । स्वीमिङ सिकाउने र हाइकिङ पनि गर्ने भनेर हाम्रो कक्षालाई कहिले एक दिनको लागि त कहिले रातै बस्नेगरी बाहिर लगिन्थ्यो । कैयन पटक बनभोज जाँदा एकान्त पारेर र स्विमिङ सिकाइदिने नाममा इङलिस टिचर हामीसँगै पौडिन आउनुहुन्थ्यो र हाम्रा संबेदनशील अंगसँग खेल्नुहुन्थ्यो’ घटनाको १४ वर्षपछि पीडित किशोरीले बताएकी छन् ।

एसओएस बालग्रामका छात्राहरुमाथि भएको सन् २००५ को एउटा प्रतिनिधि घटना हो यो । चारमध्ये दुई छात्रा त्यहींको एसओएस बालग्राम सुर्खेतमा बस्थे भने दुई छात्रा बाहिरबाट पढ्नका लागि मात्र बालग्रामद्वारा सञ्चालित विद्यालयमा आउँथे, उनीहरु बाहिर आफ्नै घरमा खाने–बस्नेगर्थे ।

यो र यस्तै प्रकारका यौन दुव्र्यबहार लगातार पाँच वर्षसम्म बालग्राममा बसेर र बाहिर निस्किसकेपछि पनि सहेको दुई छात्राको भनाइ छ । अहिले २५ वर्षभन्दा माथि उमेरका उनीहरु बालग्रामबाहिर स्वतन्त्र समाजमा आम नागरिक सदस्यका रुपमा छन् । दुवै विहेबारी गरेर घर बसाउने तयारीमा छन् ।

उजुरी गर्दा आफ्नै परिचय बाहिर आउला, सामाजिक बहिष्करणमा परिएला भनेर उनीहरुले आँशु पिएर दशक बिताए, तर पछिल्लो समय उनीहरुजस्तै छात्रावासमा बसेर पढ्ने टुहुरा छोरीहरुलाई हुर्काउने एक आमाले एसओएसभित्रका केही ‘व्याँसाहरु’का विरुद्ध आवाज उठाएपछि आफूहरुले पनि हिम्मत गरेको उनीहरु बताउँछन् ।

‘गोपनीयताकै प्रश्न हो सर, एसओएस बालग्रामजस्तो पवित्र मन्दिरमा छिरेका केही राक्षसहरुको संख्या धेरै त नहोला, तर उनीहरुविरुद्ध बाहिर आएर बोल्ने कसले रु’ यतिबेला पनि उनीहरु कुनै कारणले आफ्नो गोपनीयता सार्वजनिक होला कि भनेर डराइरहेका छन् । उजुरीकर्तामध्ये एक किशोरीले भनिन्, ‘हामी चारै जनालाई यौन दुव्र्यवहार गर्ने त्यही टिचरले पो हाम्रो नाम बाहिर ल्याइदिने हो कि १’

करिब तीन महिनाअघि सुर्खेतकै १० नम्बर छात्रावासमा आमाको पदमा कार्यरत यसोदा महतलाई विवाह गरेको निराधार आरोप लगाउँदै कन्ट्री डाइरेक्टर ईश्वरी शर्मा र सुर्खेतकै डाइरेक्टर मुकुन्द गिरीले रातको समयमा आफ्नो कार्यकक्षमा बोलाएर तथानाम गालीगलौज गर्दै जागिर छोड्न धम्की दिएको भन्दै नेपाल समाचारपत्रलाई भिडियो अन्तर्वार्ता दिएर शोषणको पर्दाफास गरेकी थिइन् । ‘महत आन्टीको हिम्मत देखेर हामीलाई पनि आफूमाथि भएको शोषणका विरुद्ध उजुरी गर्ने हिम्मत भएको हो’ उजुरीकर्ता दुवैले भने ।

एसओएस बालग्रामसँग अहिले सात हजार विद्यार्थीको भविष्य जोडिएको छ । अभिभावकविहीन बालबालिका बालग्रामका १० केन्द्रमा गरी २ हजार ५ सयको हाराहारीमा छन् जो त्यहीं बालग्राममा बस्छन् भने बाँकी बाहिरबाट पढ्न मात्र आउँछन् । विश्वका विभिन्न मुलुकमा रहेका दाताहरुको सहयोगले चलेको यस बालग्रामको बद्नाम नहोस् भन्ने चोखो भावनाले पनि धेरै पीडित आँसु पिएर चुपचाप बस्नेगर्छन् । अनुशासित र इमान्दार शिक्षक तथा कर्मचारी पनि विकृतिका विषयमा बोल्दा आफ्नो छवि पनि धमिलिन्छ भनेर डराउँछन् ।  

यो समाचार समाचारपत्र दैनिकमा छ ।