सप्तकोशीमा पानीको बहाव अत्याधिक भएर खतराको बति बालियो, सप्तरीमा ३ सय घर डुबानमा।

सप्तरी := नेपालमा केहिदिन अगाडिदेखिनै अहिले लगातार बर्षा भैइरहेको छ। देशभर भैइरहेको बर्षाले विभिन्न ठाउँहरुमा आएको बाढीपहिरोले अत्याधिक क्षेती समेत पुर्याइरहेको छ।

बाढीले धनजनको नोक्सानी हुनुको साथसाथै कैयौं मानिसको मृत्यु समेत भैइसकेको छ। त्यस्तै सप्तकोशीका सहायक नदीहरुका आसपासका पहाडी क्षेत्रमा लगातारको वर्षाले गर्दा सप्तकोशी ब्यारेजमा पूर्व पश्चिम दुवैतिर खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ।

सप्तकोशीमा पानीको बहाव उच्च हुँदै गएपछि सप्तरीको गोबरगाढा बस्ती जोखिममा परेको छ । गोबरगाढा सप्तकोसी नदीको बीचमा रहेको हनुमाननगर कंकालिनी नगरपालिका १३ मा रहेको एक बस्ती हो ।

हनुमाननगर कंकालिनी नगरपालिकामा सप्तकोशी नदीको सिपेजको पानी र वर्षाको पानीको निकास नहुँदा ९, १०, ११ र १२ नम्बर वडाका करिब ३ सय घर डुबानमा परेका छन । यसै गरी सप्तरीको सप्तकोशी नगरपालिकाको केही वडाहरु डुबान हुदाँ करिब २ सय घरहरु डुबेका छन ।

निरन्तरको वर्षाको कारण पानीको बहाव शनिबार मापन अनुसार २ लाख ३१ हजार ५ सय १५ क्युसिक पानीको बहाव पुगेको छ भने ५६ वटा ढोका मध्ये २९ वटा ढोका खोलिएको छ। लगातार पानीको बहाव बढ्दै रहेको छ । तटबन्ध क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।