सभापतिमा सहयोग गर्न पौडेलसँग निधिको आग्रह।

काठमाडौं := १४ औं महाधिवेशनको मिति नजिकिएसँगै नेपाली कांग्रेसमा सभापतिका लागि दाबी गरिरहेका नेताहरू निरन्तर छलफलमा जुटिरहेका छन् । मंगलबार मात्रै कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्व-महामन्त्री प्रकाशमान सिंहबीच कुराकानी भएकोमा बुधबार वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ ।

पार्टी सभापतिमा उठिसक्नुभएका नेताहरूसँग भेटघाट गर्ने निधि, महामन्त्री कोइराला र पूर्व-महामन्त्री सिंहबीच सहमति भएको भोलिपल्ट उपसभापति निधि वरिष्ठ नेता पौडेललाई भेट्न पौडेलकै निवास बोहराटार पुग्नुभएको हो ।

निधिले आफू साझा उम्मेदवार हुन चाहेकाले पौडेलसँग सहयोग माग्नुभएको हो । ‘१४औँ महाधिवेशनमा साझा उम्मेदवार हुने मेरो चाहना छ । तपाईंले यसमा सहयोग गर्नुप¥यो,’ पौडेलसँग निधिको आग्रह थियो ।

जवाफमा पौडेलले आफूले सरकार र पार्टीको नेतृत्व गर्ने अवसर अहिलेसम्म पनि नपाएकाले यसपटक सहयोग गर्न आग्रह गर्नुभएको थियो । ‘पार्टीको शीर्ष नेताको हैसियतले मैले अहिलेसम्म पनि नेतृत्वको अवसर पाएको छैन यसपटक मलाई मौका दिनुस्,’ पौडेलको जवाफ थियो ।

दुई नेताबीच क्रियाशील सदस्यताको विषयमा पनि छलफल भएको थियो । निधिले क्रियाशील सदस्यताको विषयमा लचकता अपनाउन पौडेललाई आग्रह गरे पनि उहाँले भने नियम र निर्देशिकाविपरीत आफू जान नसक्ने बताउनुभएको थियो । नियमविपरीतका कुनै निर्णय आफूलाई अमान्य नहुने पौडेलको भनाइ थियो । कांग्रेसले उपसभापति निधिको संयोजकत्वमा समायोजन समिति गठन गरेको थियो । उक्त समितिको सिफारिसमा अन्य पार्टीबाट आएका नेताहरूलाई क्रियाशील सदस्यता वितरण गरिएको थियो ।

तर, महाधिवेशन नजिकिएपछि क्रियाशील सदस्यतालाई लिएर दुई पक्षबीच विवाद देखिएको छ । यसअघि मंगलबार पनि पौडेल र निधिबीच फोनमा कुराकानी भएको थियो । निधिले पौडेललाई भेटेर अरू नेताहरूसँग भएको भेट र गरिएको कुराकानीका बारेमा पनि जानकारी गराउनुभएको थियो ।

नेपाली कांग्रेसका आठ लाखभन्दा बढी क्रियाशील सदस्य छन् । अन्य पार्टीबाट आएकाहरूको समायोजनमा विवाद देखिएको छ । पौडेल र निधिबीच छलफलमै सबै विषयको निष्कर्षमा पुग्ने सहमति जुटेको निधिनिकट स्रोतले बताएको छ ।

यस्तै, बुधबार नै कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा नेता पौडेल समूहको अनौपचारिक बैठक बसेको थियो । कोइराला निवासमा पौडेल, महामन्त्री कोइराला, पूर्व–महामन्त्री प्रकाशमान सिंह र नेताहरू अर्जुननरसिंह केसी, डा. रामशरण महत, डा. मीनेन्द्र रिजाल, दिलेन्द्र बडूलगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो ।

अहिले कांग्रेसमा महाधिवेशनको रौनक छाएको  छ । नेतृत्वको दौडमा बहालवाला सभापतिसहित वरिष्ठ नेताहरू रहनुभएको छ । हालका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलासहितका नेताहरू आकांक्षी देखिनुभएको छ । कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ ।