सोमबारदेखि तामाकोशीको बिजुली।

काठमाडौं := स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट सोमबारदेखि विद्युत्को व्यावसायिक उत्पादन हुने भएको छ । पहिलो युनिटको परीक्षण कार्य काम धमाधम भइरहेको छ ।  ७६/७६ मेगावाटको छ युनिट रहेको चार सय ५६ मेगावाटको आयोजनाबाट सोमबारदेखि पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु गर्ने तालिका रहेको र बाँकी युनिटबाट क्रमशः विद्युत उत्पादन हुँदै जाने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोशी हाइड्रोपावरका अध्यक्ष  हितेन्द्रदेव शाक्य, प्रधानमन्त्रीका विकासविज्ञ गजेन्द्र थपलियासहितको टोलीले आइतबार र सोमबार आयोजनाको अनुगमन गरी पहिलो युनिटबाट सोमबारदेखि उत्पादनको तालिका तय गरेको हो । टोलीले विद्युत्गृहमा उपकरणको परीक्षण, बाँधस्थल, खिम्तीमा निर्माणाधीन न्यू खिम्ती सबस्टेसनलगायतको अनुगमन गरी निर्माणमा संलग्न अधिकारीसँग छलफल गरेको थियो ।

जलाशय र बालुवा थिगर्‍याउने पोखरीमा पानी भरी बाँध, इन्टेकलगायतका सिभिल संरचना, गेट, स्टपलगलगायतका हाइड्रोमेकानिकल सबै प्रकारका परीक्षण सफल भएको प्राधिकरणले जनाएको छ । आयोजनाबाट उत्पादित विद्युत् गोंगर-खिम्ती-ढल्केबर दुई सय २० केभी प्रसारण लाइनमार्फत् राष्ट्रिय प्रणालीमा प्रवाह गरिनेछ । ७६ किलोमिटर खिम्ती-ढल्केबर प्रसारण लाइनको परीक्षण भइरहेको छ ।

माथिल्लो तामाकोशीको विद्युत्गृह दोलखाको गोंगरबाट रामेछापको खिम्तीसम्मको ४७ किलोमिटर दुई सय २० केभी प्रसारण लाइनको परीक्षण गरिनेछ । खिम्तीमा निर्माणाधीन दुई सय २० केभीको न्यू खिम्ती सबस्टेसनको परीक्षण भइरहेको छ । न्यू खिम्ती सबस्टेसनमा नलगी सिधै ढल्केबर सबस्टेसनमा जोडेर राष्ट्रिय प्रणालीमा प्रवाह गरिने शाक्यले बताउनुभएको छ ।

सबस्टेसन निर्माण सम्पन्न भएपछि आयोजनाको विद्युत् न्यू खिम्तीबाट ढल्केबरतर्फ र खिम्ती-लामोसाँघु-भक्तपुर प्रसारण लाइनमार्फत् काठमाडौं उपत्यकातर्फ प्रवाह गरिने बताइएको सबस्टेसन १५ दिनभित्रमा सञ्चालनमा आउने पनि प्राधिकरणले जनाएको छ ।

आयोजनाको साइट कार्यालय, आयोजनास्थलसम्मको पहुँच सडक, पुललगायतका पूर्वाधार निर्माणको कार्य आर्थिक वर्ष २०६२/०६३ मा र मुख्य संरचनाको निर्माण आव २०६७/०६८ मा सुरु भएको थियो तर भूकम्प र बाढीपहिरोले पुर्‍याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल ठेकेदारको कमजोर कार्यसम्पादनलगायतका कारण आयोजनाको निर्माणमा ढिलाइ भएको थियो ।

आयोजनाले दोलखा-सिंगटी ३५ किलोमिटर सडकमा करिब एक अर्ब रुपैयाँ खर्च गरी स्तरोन्नति गरेको थियो । आयोजनाले सिंगटीदेखि बाँधस्थल लामाबगरसम्म सुरुङमार्गसहित २९ किलोमिटर सडक र सातवटा पक्की पुल बनाएको छ ।