हेटौंडा अस्पतालमा डायलाइसिस सेवा सुरु।

हेटौंडा:= बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको हेटौंडा अस्पतालमा सोमबार डायलासिस सेवा सुरु भएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोग र हेटौंडा अस्पतालको प्राविधिक व्यवस्थापनमा सुरु भएको डायलाइसिस केन्द्रको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घान  गर्नुभएको छ ।

बागमती प्रदेशको राजधानी मकवानपुरमा रहेको हेटौंडा अस्पतालमा क्रमशः सेवा विस्तार गर्ने क्रममा डायलासिस सेवा सुरु गरेको हो । यसअघि हेटौंडाको नीजि अस्पताल चुरेहिल अस्पतालले मात्रै डायलाइसिस सेवा दिँदै आएको थियो ।

हेटौंडा अस्पतालमा यो सेवा नहुँदा मृगौलाका बिरामीहरु काठमाडौं, चितवनलगायतका शहरमा पुगेर डायलासिस गर्न बाध्य रहेका थिए । हेटौंडा अस्पतालले तत्कालका लागि दैनिक ११ जना मृर्गौलाका बिरामीहरुलाई सेवा दिइने अस्पताल व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाइँले बताउनुभयो ।

अस्पतालमा ५ वटा डायलासिस मेसिन जडान गरिएको छ । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा विष्णुराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डे, प्रतिष्ठानका रजिस्ट्रार एवं अस्पतालका अध्यक्ष राजेश प्रसाईं, प्रतिष्ठानका संयोजक चिरञ्जीवी चुडाल, अस्पतालका निमित्त मेसु रामचन्द्र सापकोटा लगाएतको उपस्थिति रहेको थियो ।