संस्थापन इतर पक्ष तीव्र छलफलमा।

निधि, कोइराला र सिंहबीच टिम बनाएर जाने समझादारी

काठमाडौं := नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा नेताहरू आन्तरिक छलफलमा तीव्रताका साथ जुटेका छन् । पार्टी सभापति शेरबहादुर देउवा उपसभापति विमलेन्द्र निधिलगायत सभापतिका आकांक्षी बढेसँगै नेताहरू आन्तरिक छलफलमा जुटेका हुन् । यसैबीच दोस्रो पुस्ताका नेताहरूको छलफल पनि तीव्र बनेको छ । शुक्रबार कोइरालानिवास महाराजगञ्जमा उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्व-महामन्त्री प्रकाशमान सिंहबीच छलफल भएको छ । यसअघि यी तीन नेताले नयाँ बानेश्वरमा पनि छलफल गर्नुभएकोे थियो ।

शुक्रबारको छलफल पनि तीनै जनाले महाधिवेशनमा एउटै टिम बनाएर अगाडि बढ्ने संकेत गर्नुभएको छ  । छलफलपछि उपसभापति निधिले अहिले नेताहरूको छलफललाई देशभरिबाट राम्रो प्रतिक्रिया आइरहेको बताउनुभयो । महाधिवेशनमा एउटै टिम बनाएर जाने विषयमा छलफल सकारात्मक भएको उल्लेख गर्नुहुदै उहाँले भन्नुभयो, ‘हामीबीच भइरहेको समन्वयलाई देशभरका साथीहरूले राम्रो प्रतिक्रिया दिनुभएको छ । हाम्रो पहलमा सबै खुसी छन् । टिम बनाएर जाने विषयमा समय आएपछि त्यो हुन्छ । एक-दुई सिटिङमा नै सबै कुरा फाइनल हुँदैन । हामी सकारात्मक दिशातिर गइरहेका छौं । यो छलफललाई निरन्तरता दिनेछौं ।’

निधिले अहिले सभापतिको विषयमा छलफल केन्द्रित नभएको तर पार्टी एकताबद्ध बनाएर अगाडि कसरी लैजाने भन्ने विषयमा समझदारी बनेको बताउनुभयो ।

यसअघि नेता विमलेन्द्र निधि निवासमा तीन जना नेताहरूबीच छलफल भएको थियो । शुक्रबार नेता कोइराला निवासमा पछि अब केही दिनमा सिंह निवासमा लञ्च मिटिङ हुने नेताहरूले बताउनुभयो । सिंहको निवासमा हुने लञ्च मिटिङसम्म सहमतिको वातावारण बनिसक्ने दाबी नेताहरूको छ ।

महामन्त्री डा. शशांक कोइरालाले पनि तीन नेताबीच विश्वासको वातावरण बनेको भन्दै महाधिवेशनसम्म सँगै रहने समझदारी भएको बताउनुभएको छ । उहाँले १४औँ महाधिवेशनमा सहमतिका साथ अगाडि बढ्ने विषयमा तीनजनाबीच समझदारी भएको जानकारी गराउनुभयो ।

राष्ट्रिय राजनीति र आगामी महाधिवेशनका बारेमा छलफल भएको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, ‘आउँदो १४औँ महाधिवेशनका विषयमा हामीबीचमा एउटा सहमति हुने सम्भावना प्रबल भएर गएको छ ।’ उहाँले महाधिवेशनमा तीनजना एकठाउँमा हुने उल्लेख गर्नुहुँदै सभापतिदेखि सबै पदमा सहमति गरेर अगाडि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘महाधिवेशनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ । एकप्रकारको सहमति बनिसकेको अवस्था छ । अब सभापति को हुने, महामन्त्री को हुने भन्ने विषयमा निर्णय चाँडै हुन्छ र सोही सहमतिअनुसार अगाडि बढ्छौँ ।’

यस्तै, छलफलमा सहभागी नेता सिंहले १४औँ महाधिवेशनमा मिलेर अगाडि बढ्ने सम्भावना बढ्दै गएको बताउनुभयो । पार्टी एकताको सन्देश दिनका लागि पनि अहिले आफूहरूको छलफलले तीव्रता पाएको उल्लेख गर्नुहुँदै उहाँले नेतृत्व कसले गर्ने भन्ने विषय सहमतिबाट टुंगोमा पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीबीच कसले नेतृत्व गर्ने भन्ने कुरा छलफलबाट तय हुने हो । एकदुई सिटिङमै यो हुँदैन । हामी हाम्रो पुस्ताका अरू साथीहरूलाई पनि विश्वासमा लिने विषयमा सोचिरहेका छौं ।’

निधि, सिंह र कोइराला तीनै नेता नेपाली कांग्रेसका तीन हस्तीका छोराहरू हुनुहुन्छ । तीनजना एकठाउँमा हुनुलाई कतिपयले कांग्रेसको नेतृत्व पुस्तान्तरणको बलियो आधार भनेर पनि व्याख्या गरेका छन् ।

पौडेल पक्ष पनि छलफलमा 

यस्तै, पार्टीका वरिष्ठ नेता रामचन्द्र पोडेलले पनि महाधिवेशन केन्द्रीय छलफल चलाउनुभएको छ । शुक्रबार नै आफ्नो पक्षका केन्द्रीय सदस्यहरूसँग उहाँले छलफल गर्नुभएको हो ।

बैठकमा क्रियाशील सदस्यता निष्पक्ष हुनुपर्नेबारे गम्भीर छलफल भएको नेता अर्जुननरसिंह केसीले बताउनुभयो ।

बैठकपछि कुरा गर्नुहुँदै उहाँले विधानअनुसार वडा तहबाट नै सदस्यता विवादको निष्पक्ष छानबिन हुनुपर्ने विवषयमा छलफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टीको विधानअनुसार वडाबाट संस्थागत रूपले निर्णय हुँदा प्रदेश, क्षेत्रीय निर्वाचन समिति, संघीय निर्वाचन क्षेत्र, जिल्लामा भएका विवाद जिल्लास्तरबाटै छानबिन समितिले हेर्नुपर्ने हो । विवाद समाधानको सम्भावना भएन भने मात्रै केन्द्रीय समितिले हेर्ने हो ।’

निष्पक्ष ढंगले विवाद समाधान नभएको र क्रियाशील सदस्यताको विषयमा पनि केही समस्या देखिएको उहाँले बताउनुभयो । कतिपय क्षेत्रमा वडा तहबाट भएका सिफारिसलाई जिल्लाले परिवर्तन गरेको समस्याहरू पनि सुन्नमा आएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘कतिपय ठाउँमा वडाको विवाद छ । वडाको सिफारिसलाई जिल्लाले पविर्तन गरेको कुरा छ । सबै विवादलाई पारदर्शी ढंगले क्रियाशील सदस्यता टुंगो लाग्नुपर्छ ।’ पार्टीको महत्वपूर्ण आधार नै क्रियाशील सदस्यता भएकाले विवाद पारदर्शी ढंगले समाधान हुनुपर्ने उहाँले बताउनुभयो ।

यस्तै, अन्य पार्टीबाट कांग्रेस प्रवेश गर्नेहरूको हकमा पनि निश्चित मापदण्ड बनेकाले सोहीअनुसार काम हुनुपर्नेमा त्यसो नभएको विषयमा पनि पार्टीभित्र छलफल भएको उहाँले बताउनुभयो ।

महाधिवेशनमा सभापतिको उम्मेदवार कसलाई बनाउने ? भन्ने प्रश्नमा उहाँले आकांक्षी धेरै भए पनि सहमतिबाट नै टुंगो लगाउनुपर्ने बताउनुभयो । अहिलेको चुनौतीलाई पार गर्दै सहमतिबाट उम्मेदवार टुंगो लगाउनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सभापतिमा आकांक्षा धेरैको छ । म पनि आकांक्षी हुँ । तर, अहिलेको चुनौतीलाई पार गर्ने गरी टुंगो लगाउनुपर्छ । जस्तो अवस्थामा आए पनि सहमतिमा नै टुंगो लगाउनुपर्छ भन्ने हो ।’

बसुन्धारामा पौडेलले डाक्नुभएको भेलामा महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व–महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू रामशरण महत, अर्जुननरसिंह केसी, शेखर कोइराला, मीनेन्द्र रिजाल, सुजाता कोइरालालगायत नेताहरूको सहभागिता रहेको थियो ।