क्वालालम्पुर (मलेसिया):= गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्नुको सट्टा कोरोना बिरुद्धको खोप ल्याउन जोड दिनु पर्ने एनआरएनए मलेसियाले माग गरेको छ ।
नेपालमा कोरोना संक्रमण दर घट्दै जाँदा अक्सिजन अभाव देखिन छोडेपछि अहिले नेपाली जनतामा खोप आवश्यक भएको एनआरएन मलेसियाका अध्यक्ष हरि भट्टराईले बताएका छन् । एनआरएन मलेसियाले एनआरएन च्यारिटी फण्डमा कोरोना विरुद्धको खोप खरिदका लागि २८ लाख ७६ हजार १ सय ५४ रुपैया बुझाइसकेको छ ।
एनआरएन आइसीसीले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरिसकेको छ । अहिले एनआरएनको फण्डमा धमाधम पैसा उठिरहेको छ । नेपाल सरकार आफैले अक्सिजन प्लान्ट स्थापना गर्ने भएपछि एनआरएनले अव खोप ल्याउन पहल थाल्नु पर्ने अध्यक्ष भट्टराईको भनाई छ ।
अहिले धेरै सरकारी,गैरसरकारी तथा अन्तर्राष्ट्रिय निकायबाट अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेर तथा अन्य सामाग्री प्रयाप्तरुपमा आइरहेको हुँदा एनआरएनको ध्यान खोप ल्याउनमा केन्द्रित हुनु पर्ने माग अध्यक्ष भट्टराईको छ । ‘ सबैले अक्सिजन प्लान्टमा खर्च गर्ने हो भने भोलि त्यसको उपयोगिता नहुन सक्छ, अहिलेको आवश्यकता भ्याक्सिन नै हो’ भट्टराई भन्छन्–‘ एनआरएन आइसीसीले पहल गर्ने हो भने अक्सिजन प्लान्ट स्थापना गर्ने रकमबाट लाखौ भ्याक्सिन खरिद गर्न सकिन्छ ।’
एनआरएन मलेसियाले आइसीसी अध्यक्षलगायत अन्य निकायमा खोप खरिदका लागि मागसहित अनुरोध गरिसकेको छ । #रोजगार मञ्च




















