उपत्यकाको निषेधाज्ञा खुकुलो बनाएर एक हप्ता थप्ने तयारी।

काठमाडौं:= काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञालाई केही खुकुलो बनाएर एक हप्ता थपिने भएको छ।उपत्यकाका तीनवटै जिल्लामा केही खुकुलो बनाएर निषेधाज्ञा एक हप्ता लम्ब्याउने तयारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज दिउँसो वा भोलि बिहान तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय गरिने बताउनु भयो ।

पछिल्लो पटक थपिएको निषेधाज्ञा सोमबार राति १२ बजेसम्म जारी रहनेछ । पछिल्लो पटक थपिएको निषेधाज्ञामा खाद्यान्न, फलफूल, दुग्धजन्य वस्तु तथा स्टेशनरी पसलहरु बिहान ११ बजेसम्म खोल्न दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार यातायात सेवा सञ्चालनका विषयमा पनि छलफल हुनेछ । अबको थप निषेधाज्ञामा बैंक, बित्तीय क्षेत्र, फेन्सी, भाँडा पसल लगायत भीडभाड् नहुने थप व्यवसाय समय तोकेर चलाउन दिने तयारी भएको छ । यस अघिकै निर्णयबाट किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्याँसका पसल बिहान ११ बजेृसम्म खुल्दै आएका छन् ।

हाल देशका ७० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी छ ।विकास र निर्माणको कामलाई थप खुकुलो बनाई सहज रुपमा चलन दिने तयारी गरिएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि सोमबार रातिबाट सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।