मेलम्चीमा सम्पर्कविहीन भएकामध्ये ३ जनाको शव फेला, १७ जना अझै बेपत्ता।

सिन्धुपाल्चोक := मंगलबार साँझबाट आएको मेलम्ची बाढीको कारण सम्पर्कविहीन भएकामध्ये तीन जनाको शव फेला परेको छ । अन्य १७ जना अझै सम्पर्कविहीन छन् ।

बिहीबार सिन्धुली जिल्लामा दुई जनाको शव फेला परेको हो भने एकजनाको बुधबारै सिन्धुपाल्चोकमै शव फेला परेको थियो । मृत्यु हुनेमा दुई जना चिनियाँ र एकजना भारतीय नागरिक हुनुहुन्छ । चिनियाँ नागरिक गोङ टियान छिगोको शव इन्द्रावती–११ मा फेला परेको हो भने अर्का चिनियाँ नागरिक यु चि झुको सिन्धुली जिल्ला, सुनकोशी–५ मा शव फेला परेको हो । त्यस्तै, भारतीय नागरिक कमललोचन महतोको सिन्धुलीकै सुनकोसी–७ को सुनकोशी नदी किनारमा शव फेला परेको जिल्ला प्रशासन कार्यालय कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताउनुभयो ।

त्यस्तै, अहिलेसम्म १७ जना व्यक्ति बाढीको कारण सम्पर्कविहीन भएका छन् । हेलम्बु गाउँपालिकाबाट बाढीमा परी बेपत्ता भएका २१ जनामध्ये चार जना सम्पर्कमा आएपछि बेपत्ताको संख्या १७ कायम भएको हो । बुधबार सम्पर्कमा नआएकामध्ये सिन्धुपाल्चोक जिल्ला, त्रिपुरासुन्दरी गाउँपालिका १, घोरथलीका देब खत्री, राम थापा, सुवास जिरेल र कमल खत्री काभ्रेपलाञ्चोकको धुलिखेलबाट सम्पर्कमा आउनुभएको छ । उहाँहरू चारै जना सिनो हाइड्रोपावरका कामदार हुनुहुन्छ ।

मेलम्ची खानेपानी आयोजनामा कार्यरत उहाँहरूलाई आयोजनाले उद्धार गरी उपचारको लागि धुलिखेल अस्पताल लगिएको थियो ।

बाढीका कारण आफ्नै घर तथा अन्यत्र थुनिएका ८० जनाको नेपाली सेनाको हेलिकप्टर तथा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय तथा जनप्रतिनिधिको सहयोगमा उद्धार गरिएको सहयाक प्रजिअ खनालले बताउनुभयो ।

बाढीले विभिन्न स्थानमा गरी नौवटा पुल बगाएको छ । हेलम्बु गाउँपालिकाको वडा नं. १ र ६, २ र ६, चिउरीखर्क र वडा नं. १ को एक÷एक वटा गरी चार वटा र मेलम्ची नगरपालिकाको तिपेनी जाने एकसहित पाँच वटा झोलुङ्गे पुल बगाएको छ । त्यस्तै, हेलम्बु गाउँपालिकाकै तिम्बु, हल्दे र नाकोतेको एक÷एक वटा र मेलम्ची नगरपालिकाको १० र ११ जोड्ने पक्कि पुलसमेत बगाएको छ ।

यसैबीच, बुधबार केही घटेको मेलम्चीको बहाव बिहीबार दिउँसोबाट फेरि बढ्न थालेको छ । मेलम्ची फेरि उसैगरी सुसाउन थालेको छ । नदीमा पानीको बहाव बढेपछि स्थानीय फेरि सुरक्षित स्थानतर्फ गएर बसेका छन् । मंगलबार राति आएको बाढी विस्तारै घट्दै गर्दा डुबानमा परेका आफ्ना सामान हेर्न घरतर्फ प्रवेश गरेका स्थानीय फेरि त्रसित बनेका हुन् ।