हातमा लालपुर्जा नेपालको, तर जग्गा भने भारतको कब्जामा।

कञ्चनपुर:= केही दिन अगाडि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगरका नारायणप्रसाद अधिकारी सोही ठाउँमा रहेको आफ्नो लालपुर्जा भएको जग्गामा खनजोत गरिरहनुभएको थियो । नेपाल भारत सीमासँग जोडिएको १७ नम्बर पिल्लरस्थित उक्त १२ कठ्ठा जग्गामा खनजोत गरिरहनुभएका अधिकारीलाई भारतीय सुरक्षा बल (एसएसबी)ले त्यहाँ काम गर्न रोक लगायो । २०२४ सालदेखि भोगचलन गर्दै आएको आफ्नै जमिनमा भारतीय पक्षले काम गर्न रोक लगाएपछि अधिकारी अचम्ममा पर्नुभयो ।

‘म केही दिन अगाडि यो मेरो लालपुर्जा भएको जग्गामा खेतीपाती गर्नका लागि खनजोत गरिरहेको थिए ।’ अधिकारीले भन्नुभयो, ‘अचानक एसएसबी आएर यो जग्गा भारतको हो यहाँ काम नगर्न भनेर काम गर्न दिएनन् ।’ उक्त जमिनमा काम गरेको थाहा पाए आफूलाई पक्राउ गर्ने धम्कीसमेत दिएको अधिकारीले बताउनुभयो ।

‘यदि यो जग्गामा काम गरेको थाहा पाए एफआइआर दर्ज गरेर पक्राउ गर्ने एसएसबीले धम्की दिने गरेका छन् ।’ उहाँका अनुसार उक्त जमिनमा लगाइएको अदुवा पनि एसएसबीले नष्ट गरिदिएका छन् । उहाँले भन्नुभयो, ‘मैले लगाएको अदुवा पनि एसएसबीले नष्ट गरिदिएका छन् ।’ उक्त जग्गा २०२४ सालमा अधिकारीका बुवा भूमिनन्द अधिकारीले किन्नुभएको थियो । ‘यो जमिन २०२४ सालमा मेरा बुवाले किन्नुभएको हो, मेरो जन्म २०२७ सालको हो ।’ अधिकारीले भन्नुभयो, ‘जमिनको लालपुर्जा पनि छ, मलाई राम्रोसँग थाहा छ, पहिला यहाँ कुनै विवाद नै थिएन तर अहिले अचानक यो जग्गा भारतको हो काम नगर्न भन्दै एसएसबीले काम गर्न दिएको छैन ।’

विगत तीन वर्षदेखि एसएसबीले आफूहरूलाई दुःख दिने गरेको स्थानीय मानबहादुर गुरुङले बताउनुभयो । ‘यी एसएसबीले हामीलाई तीन वर्षदेखि दुःख दिँदै आएका छन् ।’ गुरुङले भन्नुभयो, ‘पहिला यस्तो केही थिएन हामीहरू भारतको जग्गा जोत्न गएका छैनाँै, आफ्नै लालपुर्जा भएको जग्गा जोत्न पनि नपाउनु यिनीहरूको यत्रो दादागिरी हामी सहन सक्दैनाँै ।’ उहाँले अगाडि थप्नुभयो, ‘हामीले आफ्नो लालपुर्जा भएको जग्गामा पनि काम गर्न गलत हो भने नेपाल सरकारले भनिदिनुप¥यो, हामी छोड्न तयार छांै, सरकारले बोल्नुप¥यो।’

उक्त विवादपछि प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा निकायका प्रमुखले पनि उक्त क्षेत्रको अनुगमन गर्नुभएको थियो । ‘अस्ति यहाँ सिडियो साप, एसपी साप पनि आउनुभएको थियो ।’ अधिकारीले भन्नुभयो, ‘तर, सिडियो साप एक शब्द पनि नबोलेर फर्किनुभयो ।’ यद्यपि, यता प्रमुख जिल्ला अधिकारी रामकुमार महत्तोले विवाद समाधानका लागि सम्बन्धित निकायमा कुरा भइरहेको बताउनुभयो ।’