बागलुङ := बर्खामा मात्र होइन, हिउँद महिनामा समेत भारी वर्षा हुँदा बागलुङ बजार जलमग्न हुन्छ । बागलुङ बजारको विभिन्न चोकहरूमा ढलको पानी सडकबाट बग्छ । भलसँगै आएको पानी सडकमा मात्रै ताल बन्दैन, बजारवासीको घर, पसलभित्रै पुग्छ ।
यसबाट बागलुङ बजारको लालीगुराँस चोक, शिवधारा चोक, धौलागिरि चोक, हल्लनचोक, गोदामचोक, समीक्षालय चोक, सिर्जनाटोललगायत स्थानका व्यापारी तथा स्थानीय वर्षौंदेखि हैरानी खेप्दै आएका छन् ।
बागलुङ नगरपालिकाले हरेक वर्ष नाली (ढल) व्यवस्थापनका लागि लाखौँ रुपैयाँ बजेट विनियोजन गर्छ तर ढल व्यवस्थापनमा अपेक्षाकृत सुधार देखिएको छैन । यसले स्थानीय त हैरानी छन् नै, बजारको सुन्दरता र सडकलाई पनि कुरूप बनाइदिने गरेको छ । वर्षा हुँदा साथ बजारको मुख्य चोकहरूमा पानीको ताल बन्छ । पैदल यात्रा गर्नसमेत समस्या हुँदै आएको छ ।
वर्षातको समयमा नालीबाट सोझै घरभित्र पानी छिर्दा अन्नपात, लत्ता कपडा तथा पसलका समानहरू भिजेर नष्ट हुने गरेको सिर्जना टोलका राजेश हमालले बताउनुभयो । पानी पर्दा रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । ‘बर्खा लाग्यो अब रातभर जाग्राम बस्नुपर्छ, पानी नपर्दा त केही समस्या हुँदैन, जब पानी पर्छ तब नाली खोल्ने र भल तर्काउनेबाहेक अरू काम हुँदैन, राति दिन पानी तर्काउनमै बित्छ,’ हमालले हिमालय टाइम्ससँग भन्नुभयो, ‘नाली साँघुरो छ माथिबाट ठूलो भल आउँछ, नालीमा अटाउँदैन, कहाँ जाओस् ? सबै भल कोठाभित्रै बस्छ ।’
सडक तथा नाली निर्माण आवश्यकता र मापदण्डअनुसार नहुँदा हरेक वर्ष बजारवासीले यस्तो समस्या भोग्नु परेको बजारवासीको गुनासो छ । यसमा नगरपालिकाले खासै ध्यान नदिएको उनीहरूको आरोप छ । ‘बर्सेनि यही समस्या दोहोरी रहेको छ, तर दीर्घकालीन रूपमा समस्याको समाधान गर्न सकिराखेको छैन,’ हमालले भन्नुभयो, ‘जबसम्म दीर्घकालीन रूपमा नाली व्यवस्थान हुँदैन, तबसम्म बजारबासीले फोहोर पानी तर्काउँदै वर्षात् बिताउनुपर्ने हुन्छ ।’
बागलुङ नगरपालिका–२ का वडा अध्यक्ष जीवन आचार्यले मध्यपहाडी लोकमार्गका कारण बजार क्षेत्रमा हरेक वर्ष जलमग्न हुने गरेको बताउनुहुन्छ । उहाँले लोकमार्गबाट आएको भलले बजार क्षेत्रका नालीहरू पुरिँदा सडकमा पानी बग्ने र स्थानीयको घरभित्र पस्ने गरको बताउनुहुन्छ ।
‘लोकमार्गबाट भेलले ढुंगा गगे्रटा सोरेर ल्याउँछ, नागरिकले पनि घरहरू निर्माण गर्दा अव्यस्थित रूपमा निर्माण सामग्री राख्ने, सरसफाइमा ध्यान नदिँदा पनि यहाँको नाली थुन्दिन्छ, जसले गर्दा भलपानी बजारभरी हुन्छ र स्थानीयको घर पसलभित्र पस्ने अवस्था छ, लोकमार्गले समयमै काम नसक्दा यो समस्या आएको हो’ अध्यक्ष आचार्यले भन्नुभयो, ‘भललाई तर्काउनका लागि पहल गरे पनि ठूलो वर्षा हुँदा पुरानै समस्या दोहोरिएको छ ।’
अध्यक्ष आचार्य केन्द्र सरकारले बजार क्षेत्रमा नाली निर्माणको लागि ठूलो योजना पारेको र समयमा काम सुरु नगर्दा पनि यो समस्या आएको बताउनुहुन्छ । उहाँले केन्द्रबाट बन्ने हुँदा आफूहरूले अर्को योजना सुरु नगरेको भन्दै माथिबाट काम सुरु गर्न ढिला गरेको बताउनुहुन्छ ।
हरेक वैशाख, जेठ महिनामा बजार क्षेत्रको नाली निर्माण तथा व्यवस्थापन गर्ने गरेको भन्दै यस वर्ष कोभिडका कारण गर्न नसकिएको उहाँले बताउनुभयो । आचार्यले वडाबाट हुने नाली व्यवस्थापन तथा सरसफाइ गर्ने कार्य अहिले नगर फोहोर मैला तथा सरसफाइ शाखामार्फत हुन थालिए पनि समयमै काम गर्न नसकेको बताउनुहुन्छ ।
‘वडाबाट नाली व्यवस्थापन हुँदासम्म हामीले समयमै सक्थ्यौँ, अहिले फोहोरमैला तथा सरसफाइ शाखामार्फत हुन थालेको छ तर काम नै हुन सकेको छैन, यसले गर्दा पनि केही समस्या आएको छ,’ उहाँले भन्नुभयो, ‘समयमै काम हुने हो भने यस्तो समस्या आउने थिएन, लोकमार्गको पनि अवस्था उस्तै छ, यहाँ पनि उस्तै, अहिले समान्य व्यवस्थापन त गरेका छौँ तर भारी वर्षा भयो भने उस्तै हुन सक्छ ।’




















