एजेन्सी := युराे कप अन्तर्गत हिजो बिहीवार सम्पन्न भएकाे पहिलाे खेलमा युक्रेनले नर्थ म्यासेडोनियालाई हराएकाे छ । राेमानियाकाे नेशरन एरिनामा भएकाे खेलमा युक्रेनले नर्थ मेसेडाेनियालाई २-१ गाेल अन्तरले हराएकाे हाे ।
युक्रेनले पहिलाे हाफमा नै दुई गाेल गरेकाे हाे । युक्रेनका लागि खेलकाे २९ औँ मिनेटमा एन्ड्रीय यार्माेल्नेकाेले र ३४ औँ मिनेटमा राेमन यारेमचुकले गाेल गर्दै पहिलाे हाफमा टिमलाई दुई–शून्यकाे अग्रतामा राखेका थिए ।
तर दाेस्राे हाफकाे ५७ औँ मिनेटमा इज्ग्जान एलिओस्कीले गोल गर्दै म्यासेडोनियाकाे खाता खाेले । म्यासेडोनिया खेलमा फर्किने सङ्केत गरे पनि थप गाेल गर्न नसक्दा हार बेहाेर्न पुग्याे ।
जितसँगै समूह ‘सी’ मा रहेकाे युक्रेन दुई खेलमा तीन अङ्क जाेड्दै तालिकाकाे तेस्राे स्थानमा छ भने दुई खेल नै हारेकाे म्यासेडोनिया पुछारमा छ । याे जितपछि युक्रेनले समूह चरण पार गर्ने सम्भावना कायमै रहँदा लगातार दोस्रो हार बेहोरेको नर्थ म्यासेडोनियाको समूह चरण पार गर्ने सम्भावना कम भएकाे छ ।




















