निशालाई आँचलको तर्फबाट १ लाख, करिष्मा लगायतको तर्फबाट ५० हजार बढी आर्थिक सहयोग।

काठमाडौं := अस्पतालमा उपचाररत मोडल निशा घिमिरेलाई अभिनेत्री आँचल शर्माले १ लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ । आइतबार निशालाई भेट्न अस्पताल पुग्नु भएकी आँचलले आउँदो शनिबार निशाको पितालाई भेटेर सहयोग रकम हस्तान्तरण गर्ने बताउनुभएको छ ।

निशाको स्वास्थ्यमा सुधार हुँदै गएका कारण निशा चाँडै निको हुनेमा आफू विश्वस्त रहेको आँचलले बताउनु भएको छ । तीन वर्ष अगाडि अभिनयमा डिप्लोमा गर्न भारत गएको समयमा सवारी दुर्घटनामा परेर ब्रेन इञ्जुरी हुनुभएकी निशाको बिहीबारदेखि नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उहाँको उद्दार गरेर निःशुल्क उपचार सुरु गर्नुभएको छ । यो सँगै निशाका लागी आर्थिक सहयोग जुटिरहेको छ । आइतबार चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले उनलाई ५१ हजार प्रदान गरेको छ ।

त्यस्तै करिश्मा मानन्धर, रेजिना उप्रेती, उषा पौडेललगायतले पनि ५० हजारमाथिको आर्थिक सहयोग गर्नुभएको छ । यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, म्युजिक भिडियो कलाकार संघले आर्थिक सहयोग गरेका छन् । यस्तै अन्य कलाकारले पनि व्यक्तिगत तर्फबाट आर्थिक सहयोग गरिरहेका छन् ।