एजेन्सी := इजरायलमा बेन्जामिन नेतान्याहुको १२ वर्षको सत्ता अन्त्य भएको छ । संसद्ले नयाँ प्रधानमन्त्री निर्वाचित गरेसँगै नेतान्याहुको सत्ता अन्त्य भएको हो । दक्षिणपन्थी राष्ट्रवादी नाफताली बेनेटले ‘परिवर्तनको सरकार’ को नेतृत्व गर्दै शपथ ग्रहण गर्नुभएको छ ।
नेतान्याहुलाई एक मत अन्तरले पराजित गर्दै बेनेट संसद्बाट प्रधानमन्त्री चुनिनु भएको हो । उहाँले अत्यन्तै साँघुरो ६०–५९ बहुमतका आधारमा ‘अभूतपूर्व’ गठबन्धनको नेतृत्व गरेको एजेन्सीले उल्लेख गरेका छन् । सत्ता समीकरणसम्बन्धी सम्झौताका अनुसार उहाँ सन् २०२३ को सेप्टेम्बर महिनासम्म प्रधानमन्त्री रहनुहुनेछ । त्यसपछि येश अटिड पार्टीका नेता याएर लापिड थप दुई वर्ष प्रधानमन्त्री हुनुहुनेछ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले बेनेटलाई बधाई दिनुभएको छ । उहाँले आफू बेनेटसँग काम गर्न इच्छुक रहेको बताउनुभएको छ । नयाँ सरकारमा पहिलो पटक सहभागि भएको एउटा दलले २१ प्रतिशत अरब अल्पसंख्यकको प्रतिनिधित्व गर्दछ । इजरायलमा नयाँ सरकार बनेपछि पछिल्लो दुई वर्षदेखि देखिँदै आएको राजनीतिक अस्थिरता अन्त्य हुने विश्वास लिइएको छ । नेतेन्याहू इजरायलमा सबैभन्दा लामो समयसम्म सत्तामा रहने नेता हुनुहुन्छ । नेतान्याहुले नयाँ सरकारलाई धोकाधडी र आत्मसमर्पणबाट बनेको खतरानक गठबन्धनको संज्ञा दिनु भएको छ ।
एजेन्सीका अनुसार नेफ्टाली बेनेटको यामिना पार्टीको संसदमा केवल सात सिट छ । उहाँको पार्टी पनि संसदमा पाँचौं स्थानमा छ । तर, बेनेट दुवै पक्षको लागि निकै महŒवपूर्ण हुनुहुन्थ्यो । त्यसैले उहाँले प्रधानमन्त्री पद प्राप्त गर्न सफल हुनु भएको छ । यामिना पार्टीका साथै अन्य तीन पार्टीको समान सात सिट छ ।
निर्वाचनको नतिजा आएसँगै नेफ्टाली बेनेट विना कुनै पनि पार्टीले सरकार बनाउन नसक्ने स्पष्ट देखिएको थियो । बेनेटलाई प्रधानमन्त्री नेतान्याहु वा विपक्षी नेता येर लेपिडमध्ये एकसँग मिलेर प्रधानमन्त्री बन्ने प्रस्ताव आएको थियो । यस्तो अवस्थामा उहाँले मध्यमार्गी नेता येर लेपिडसँग मिलेर सरकार बनाउने निर्णय गर्नुभएको हो । यद्यपि यी दुई नेताको विचारधारा निकै भिन्न छ ।४९ वर्षीय बेनेटलाई कुनै समय नेतान्याहुको बफादार मानिन्थ्यो । नेतान्याहुसँग अलग हुनुभन्दा अगाडिसम्म बेनेट सन् २००६ देखि २००८ सम्म इजरायलको चिफ अफ स्टाफको रुपमा रहनुभएको थियो ।
नेतान्याहुको लिकुड पार्टी छाडेपछि बेनेट दक्षिणपन्थी धार्मिक यहुदी होम पार्टीमा जानुभएको थियो । सन् २०१३ को आम निर्वाचनमा बेनेट निर्वाचित भएर इजरायलको संसद्मा पुग्नु भएको थियो ।




















