एजेन्सी := कोरोना महामारीका कारण चलचित्रहल खुल्न नपाउँदा डिजिटल प्लेटफर्ममा चलचित्रहरू प्रदर्शन भइरहेका छन् । विशेषगरी बलिउड र हलिउडमा यसको प्रयोग निकै बढ्दै गइरहेको छ ।
साउथ अभिनेत्री सामन्था अक्किनेनी र अभिनेता मनोज बाजपेयी अभिनीत वेब सिरिज ‘द फेमिली म्यान २’ हालै ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा सार्वजनिक भएको छ । काम र परिवारको दोहोरो जिम्मेवारीमा चेपिएका एउटा पुलिस अफिसरको कथामा बनेको सिरिजले यतिबेला चौतर्फी प्रशंसा कमाएको छ । विशेषगरी सामन्थाको अभिनयलाई दर्शकले निकै रुचाएका छन् ।

यो सिरिज सफल भएपछि ओटीटी दुनियाँका दुई ठूला प्लेटफर्म नेटफ्लिक्स र अमेजनबीच युद्ध सुरु भएको छ । अमेजनको ब्लकबस्टर वेब शो ‘द फेमिली म्यान २’ का कलाकारलाई आफ्नो खेमामा तान्न नेटफ्लिक्सले मनोज बाजपेयीलाई एक दमदार वेब शो अफर गरेको छ भने सामन्थालाई पनि मोटो रकमसहित नयाँ वेब सिरिज अफर गरेको भारतीय मिडियाले बताएका छन् ।

सामन्थाले नेटफ्लिक्सको प्रस्ताव स्वीकार गरिसकेकी छैनन् । तर, उनलाई वेब सिरिजको कन्सेप्ट मन परेको छ । ‘द फेमिली म्यान २’ मा उनको अभिनय देखेपछि नेटफ्लिक्स उहालाई नयाँ प्रोजेक्टमा लिन पूरै कोशिश गरिरहेको छ । उक्त वेब सिरिजका लागि उहालाई ८ करोड अफर गरिएको जानकारी प्राप्त छ । जबकि, ‘द फेमिली म्यान २’ मा उनले ४ करोडमा काम गर्नुभएको थियो ।




















