काठमाडौं := जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर नयाँ पार्टी दर्ता गराउने मनस्थितिमा पुग्नुभएको छ । निर्वाचन आयोगमा आधिकारिकताका लागि दाबी गर्न बहुमत पुग्ने अवस्था नरहेपछि ठाकुर पक्षले नयाँ पार्टी दर्ताको मनिस्थिति बनाएको हो ।
निर्वाचन आयोगले महन्थ ठाकुर पक्षलाई कार्यकारिणी समिति सदस्यको हस्ताक्षरसहितको नामावली बुझाउन दिएको समयसीमा समाप्त भइसकेको छ । तर, अन्तिम समयसम्म पनि बहुमत सदस्य पु¥याउन नसकेपछि ठाकुर पक्ष नयाँ पार्टी दर्ताको अवस्थामा पुगेको हो ।
आइतबार निर्वाचन आयोगमा नामावली बुझाउनका लागि हस्ताक्षर गर्न बबरमहलमा बैठक बोलाइएको भएपछि बहुमत सदस्य अनुपस्थित भएपछि बैठक स्थगित गरिएको थियो । कार्यकारिणी समितिका ५१ जनामध्ये १९ जना मात्रै महन्थ ठाकुरको पक्षमा उभिएका छन् । बहुमतका लागि २६ जना केन्द्रीय सदस्य संख्या नपुगेपछि अब नयाँ पार्टी बनाउने तयारी अगाडी बढेको ठाकुर पक्षका एक सदस्यले हिमालय टाइम्सलाई बताउनुभयो ।
सम्भावित नयाँ पार्टीका लागि केशव झाले दुई अध्यक्षसहित विधान बनाउनुभएको छ भने डा.सुरेन्द्र झाले एक अध्यक्षसहितको विधान बनाउनुभएको स्रोतको भनाइ छ । नयाँ पार्टीमा राजेन्द्र महतो र महन्थ ठाकुरसहित दुईजना अध्यक्ष रहने कि एकजना मात्रै अध्यक्ष रहने भन्ने टुंगो लाग्न बाँकी रहेको बताइएको छ ।
निर्वाचन आयोगको फैसला- जसपाको दुवै पक्षको कारबाही मान्य छैन
जसपाका दुवै पक्षले एक–अर्कालाई कारबाही गरेको अभिलेख राख्न निर्वाचन आयोगलाई पत्राचार गरेपछि आयोगले भने त्यसलाई अस्वीकार गरेको छ । आइतबार बसेको आयोगको बैठकले पदाधिकारी हटाउनु र हेरफेर गर्नु एउटै विषय नभएकाले अभिलेखीकरण गर्न अस्वीकार गरेको हो । दफा ४३ अनुसार आए मात्रै विवाद अघि बढाउने निर्णय आयोगले गरको छ ।
अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई र यादव पक्षले महन्थसहित नेताहरू राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई कारबाही गरेपछि जसपाको विवाद निर्वाचन आयोगसम्म पुगेको थियो ।
दुवै पक्षले जेठ १८ गने नै पार्टीको दर्ता किताबमा नाम अद्यावधिक गर्न राजनीतिक दलको दफा ५१ अनुसार आयोगलाई पत्राचार गरेका थिए । आयोगले भोलिपल्टै (जेठ १९) गते अनुसूचीअनुसार सात दिनभित्र आउन भन्दै दुवै पक्षलाई पत्र पठाएको थियो । उनीहरूले पार्टीको लेटरप्याडमा निवेदन लेखेको र विवरण पूर्ण नभएको भन्दै आयोगले अनुसूचीअनुसार आउन पत्राचार गरेको थियो । सोही पत्रअनुसार जसपाको यादव पक्षले भने आयोगलाई जेठ २० गते नै अनुसूचीअनुसारको विवरण पेश गरेको थियो ।
तर, ठाकुर पक्षले भने निर्धारित समयमा अनुसूचीअनुसारको विवरण बुझाउन सकेको थिएन । ठाकुर पक्षले थप सात दिनको समय माग गरेको छ । तर, आयोगले भने समय दिन नसकिने जानकारी दिएको स्रोतको भनाइ छ ।




















