मलेसियामा रहेका कम्पनी गुडइयरविरुद्धको तलब कटौती लगायतको मुद्दा नेपाली लगायत श्रमिकले जिते।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा कार्यरत नेपालीसहित विभिन्न देशका कामदारले प्रसिद्ध अमेरिकी टायर निर्माता कम्पनी गुडइयरविरुद्धको तलव सुविधालगायतको क्षतिपूर्तिको मुद्दा जितेका छन् । कम्पनीमा कार्यरत नेपालीसहित ५६ देशका प्रवासी,विदेशी कामदारको अनुचित एवं गैर कानूनीरुपमा तलव काटेको, राहदानी कब्जामा लिएर मानवअधिकार हनन गरेकोजस्ता विषयमा त्यहाँको औद्योगिक अदालतमा मुद्दा दायर गरेका थिए।

बिहीबार भएको फैसलामा विदेशी कामदारहरुले मुद्दा जितेका हुन् । गुडइयरविरुद्ध विदेशी मजदुरहरुको यो तेस्रो ठूलो सामूहिक मुद्दा हो । यसअघि १ सय १९ विदेशी मजदूरले दायर गरेको मुद्दा पनि औद्योगिक अदालतले मजदुरहरुका पक्षमा फैसला सुनाएको थियो । त्यसविरुद्ध विपक्षी गुडइयर कम्पनी उच्च अदालतमा पुनरावेदनमा गएको छ । त्यस मुद्दाको फैसला आगामी जुलाई २६ मा हुने बताइएको छ ।

उक्त कम्पनीमा ठूलो संख्यामा नेपालीसहित म्यानमार तथा भारतका कामदार रहेका छन् । उक्त कम्पनीमा सन् २०१२ देखि सन् २०२० सम्म काम गरेका नेपालका शरण कुमार राई मलेसियाको औद्योगिक अदालत जाने विदेशी कामदार मध्ये प्रमुख हुन् ।

अदालतमा प्रमाणका रुपमा पेश गरिएको तलव भुक्तानी (पेस्लीप) मा कतिपय विदेशी कामदारले महिनामा २ सय २९ घण्टासम्म ओभरटाइम काम गरेको पाइएको थियो । मलेसियाको श्रम कानून अनुसार विदेशी कामदारहरुले मासिक १ सय ४ घण्टामात्र ओभरटाइम काममा लगाउन पाउने व्यवस्था रहेको छ ।

विदेशी कामदारहरुका तर्फबाट मुद्दा लडिरहेका स्थानीय कानून व्यवसायी चन्द्रा सेगरन राजेन्द्रनले उक्त कम्पनीले कामदारको ५० लाख रिंगिट करिब १५ करोड रुपैयाँ बराबरको रकम भुक्तानी गर्नुपर्ने बताएका छन् । उनले गुडइयरले मुद्दा हारेको घटनाले मलेसियामा विदेशी कामदारको हौसला बढाएको बेलायती समाचार संस्था एपीलाई बताएका छन् ।

अधिवक्ता सेगरनले अदालतले मलेसियामा काम गर्ने विदेशी कामदारले मलेसियन नागरिक सरह सेवा, सुविधा पाउनु पर्ने पक्षमा निर्णय दिएको बताएका छन् । उक्त कम्पनीविरुद्ध मलेसियाको औद्योगिक अदालतमा यसअघि पनि विदेशी कामदारले तलव सुविधा दिलाउन माग गर्दै उजुरी दिएका थिए ।

मलेसियामा कम्पनीहरुले आप्रवासी श्रमिकलाई ठगेको, विभेद गरेको मुद्दा पछिल्ला केही वर्षयता चर्को रुपमा उठ्दै आएको छ । कामदार शोषणमा परेको विषयलाई समावेश गरी बेलायती सञ्चार संस्था रोयटर्सले एक अनुसन्धान मुलुक समाचार सार्वजनिक गरेको थियो । source : AP NEWS