युरोकपको उद्द्घाटन खेलमा टर्कीलाई ३-० गोलले हराउँदै इटलीको सानदार जित सुरुवात।

एजेन्सी:= युरोपेली च्याम्पियनसिप (युरोकप) को गएराती भएको उद्घाटन खेलमा इटालीले घरेलु मैदानमा टर्कीविरुद्ध सहज जित निकालेको छ । इटालीले ३-० को जित दर्ता गर्दा सबै गोल दोस्रो हाफमा सम्भव भएको हो ।

टर्कीका मेरिह डेमिरलको खेलको ५३ औं मिनेटमा आत्मघाती गोल गरेपछि इटलीले खेलमा अग्रता बनाएको थियो। त्यस्तै ६६ औं मिनेटमा सिरो इमोबाइलले गोल थपे भने उनकै पासमा ७९ औं मिनेटमा लोरेन्जो इनसिग्नेले गोल थपे।

यी दुबै टोली प्रतियोगिताको समूह ए मा छन्। समूह ए मा इटली र टर्कीसहित स्वीजरल्याण्ड र वेल्स छन्। खेलमा स्टेडियमको २५ प्रतिशत अर्थात १६ हजारको हाराहारीमा दर्शकको उपस्थिति थियो।

यसपटकको युरोकप ११ फरक शहरहरुमा आयोजना हुँदैछ। जसमा स्कटल्याण्डको ग्लास्को, युकेको लन्डन, रसियाको सेन्ट पिटर्स्वर्ग, नेदरल्याण्डको एम्स्टरड्याम, अजरबैजानको बाकु, रोमानियाको बुकारेस्ट, हङ्गेरीको बुडापेस्ट, डेनमार्कको कोपनहेगन, जर्मनीको म्युनिख, इटालीको रोम र स्पेनको सेभिल्ली रहेका छन्।