अस्ट्रेलियाविरुद्ध १० खेलाडीमा सीमित नेपाल ३-० गोल अन्तरले पराजित।

काठमाडौं := फिफा विश्वकप -२०२२ तथा एसियन कप -२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपाल पराजित भएको छ ।

शुक्रबार राति कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा बलियो टिम अष्ट्रेलियासँग १० खेलाडीमा समेटिएको नेपाल ३-०ले पराजित भएको हो । एकपक्षीय भएको खेलको छैटौँ मिनेटमा  कप्तान म्याथ्यु लेक्कीले गोल गर्दै अष्ट्रेलियालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ३८औँ मिनेटमा फ्रान कारासिकले गोल गर्दै अष्ट्रेलियाको अग्रता दोब्बर पारे ।

४५औँ मिनेटमा डिफेण्डर रोहित चन्द रातो कार्ड खाँदै मैदानबाट बाहिरीएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो । पेनाल्टी क्षेत्र बाहिर वन भर्सेस वनको स्थितिमा अघि बढेको अवस्थामा मार्टिन बोएललाई फल गरेको भन्दै रेफ्रीले रोहितलाई रातो कार्ड देखाएका थिए ।

त्यसपछि दोस्रो हाफको ५७औ मिनेटमा मार्टिनले नै गोल गर्दै अष्ट्रेलियालाई ३-०को को सहज जित दिलाए । बल पोसेसनमा अष्ट्रेलियाले वर्चस्व जमाउँदा नेपालले पटकपटक चुनौती सामना गर्नुपर्यो । नेपाल भने बलियो टोली अष्ट्रेलियाविरुद्ध आक्रमण बुन्न नै असफल भयो ।

जितसँगै अष्ट्रेलिया विश्वकप छनोटको तेस्रो चरण र एसियन कपको लागि छनोट भएको छ ।२१ अंक जोडेको शीर्ष स्थानको अस्ट्रेलियाले अहिलेसम्म खेलेका ७ वटै खेलमा जित हात पार्‍यो। दोस्रोको स्थानको जोर्डनको १३ अंक छ भने तेस्रो स्थानका कुवेत १० अंक छ।

नेपाल ६ अंक जोडेर अंक तालिकाको चौथो बन्यो। नेपालले चाइनिज ताइपेईलाई दुवै लेगमा समान २-० गोलले पराजित गर्दा अरु तीन टिमसँग दुवै खेलमा पराजय भोग्यो। पाँचौ स्थानको चाइनिज ताइपेईले खेलेका सबै खेलमा हार बेहोरेकाले अंक जोड्न सकेको छैन।

नेपाल र अस्ट्रेलियाबीच सन् २०१९ मा यहि छनोटको पहिलो लेगमा प्रतिस्पर्धा भएको थियो। क्यानबेरामा भएको सो खेलमा अस्ट्रेलियाले नेपाललाई ५-० गोलले पराजित गरेको थियो।