कांग्रेसको १४औं महाधिवेशन भदौमै हुन्छ, भ्रममा नपर्नुहोस्: सभापति देउवा।

काठमाडौं := नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई लिएर आम कार्यकर्तामा अन्योल देखिए रहेका बेला सभापति शेरबहादुर देउवाले २०७८ भदौमा नै पार्टीको महाधिवेशन हुने बताउनुभएको छ ।

सभापति देउवाले बुधबार एक विज्ञप्तिमा जारी गर्दै आफू पार्टीको १४ औं महाधिवेशन भदौभित्रै सम्पन्न गर्न पूर्ण प्रतिबद्ध भएर लागेको स्पष्ट पार्नुभएको हो । ‘पार्टीको महाधिवेशन प्राविधिक पक्ष वा प्रशासनिक विषय मात्र नभएर यो एक महŒवपूर्ण राजनीतिक अभियान हो र पार्टीको जीवन्तताका लागि हो भन्ने कुरा मैले राम्ररी बुझेको छु’, उहाँले भन्नुभएको छ ।

देउवाले महाधिवेशन गर्न आफू पूर्ण प्रतिबद्ध रहेको भन्दै ‘यस्तो विषम परिस्थितिमा पनि हामीले यही भदौ महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नुपरेको छ । म देशभरिका पार्टीका सम्पूर्ण साथीहरूलाई स्पष्टताका साथ भन्न चाहन्छु– २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिबद्ध छु,’ विज्ञप्तिमा भन्नुभएको छ । ‘महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन । बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरू मिलेर सम्पन्न गर्ने कार्य हो’, उहाँले भन्नुभएको छ ।

प्रेस बिज्ञप्ति

असार र साउन महिनाभित्र महाधिवेशनका लागि सबै पूर्वतयारी सकेर निर्धारित समयमा नै महाधिवेशन गर्ने उहाँले बताउनुभएको छ । ‘हामीसँग अब बढी समय छैन । असार र साउन दुई महिनाभित्र महाधिवेशनका लागि सबै पूर्व–तयारी गर्नुपर्छ । पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरूको तयारीलगायत महाधिवेशनका सबै तयारी गर्नुछ । यस निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेका छन् । पार्टीको महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमा गरिनेछन्’, देउवाले विज्ञप्तिमार्फत भन्नुभएको छ।

आ–आफ्नो स्थानबाट महाधिवेशन समयमा सम्पन्न गर्नका लागि दत्तचित्त भई लाग्न आह्वान गर्दै देउवाले भन्नुभएको छ, ‘म पार्टीका पदाधिकारी र केन्द्रीय कार्यसमितिका साथीहरू, पार्टीको स्थानीय तहका पदाधिकारी तथा सदस्यहरू, देशभरिका पार्टी सदस्यहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाका साथीहरू, विदेश स्थित जनसम्पर्क समितिका साथीहरूलाई नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न गर्ने बारे कुनै पनि भ्रममा नपरी आ–आफ्नो स्थानबाट महाधिवेशन समयमा सम्पन्न गर्नका लागि दत्तचित्त भई लाग्न आह्वान गर्दछु । कोभिड–१९ को महामारीलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई काम गर्न पनि अनुरोध गर्दछु ।’

यसैबीच नेपाली कांग्रेसले क्यान्सर संस्थानको नाममा स्थापित स्वास्थ्य प्रतिष्ठिानहरूको स्वायत्ततामा सरकारले अतिक्रमण गरेको भन्दै त्यसलाई स्वीकार गर्न नसकिने बताएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार एक विज्ञप्ति जारी गर्दै बजेटमा सरकारले ल्याएको क्यान्सर संस्थानको अवधारणामार्फत तीन वटा स्थापित क्यान्सर अस्पतालहरको स्वायत्तता कुष्ठित गर्न खोजिएको भन्दै त्यसलाई फिर्ता लिन भन्नुभएको छ ।

भक्तपुर क्यान्सर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई संस्थान मातहतमा ल्याउने भनेर अध्ययन, विज्ञ परामर्श र सरोकारवालाहरूसँग कुनै छलफल बिना बजेटमा उल्लेख हुनुले त्यस पछिल्तिरको निश्चित नियतलाई प्रष्ट पारेको विज्ञप्तिमा जनाइएको छ ।

‘२०४६ को परिवर्तनपश्चात् नेपाली कांग्रेसको नीति र नेतृत्वमा स्वदेशी र वैदेशिक सहयोगमा स्थापित र विकसित केही क्यान्सर अस्पतालहरू देशमा छन् । समयानुकूल तिनको क्षमता विस्तार गर्ने र तीमार्फत नवीन अनुसन्धानमा सहजीकरण गर्ने कर्तव्य राज्यको हो,’ प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसका लागि सक्षम प्रतिष्ठानहरूलाई नै अध्ययन र अनुसन्धानका लागि प्रोत्साहित र शसक्तिकरण गर्ने योजना उपयुक्त हुनसक्थ्यो । तर, त्यसो नगरी अलग्गै विवादास्पद संरचना मातहत ल्याउने र अस्पतालहरूको स्वायत्तता कुण्ठित गर्दै राज्य नियन्त्रित अखडा बनाउने नियत सरकारले राख्नु नितान्त गलत छ ।’