एजेन्सी := बलिउडकी दिग्गज अभिनेत्री हेमा मालिनीले कोरोना भाइरसको विषयमा दिएको एक अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरू आक्रोशित बनेका छन् । हालै हेमाले कोरोनाभाइरस हटाउन होम गर्न सुझाउनु भएको थियो।
उहाँ सामाजिक सञ्जालमा ट्रोलको सिकार बन्नुभएको हो । विश्व वातावरण दिवसको अवसरमा हेमाले एउटा भिडियो सामाजिक सञ्जालमा शेयर गर्नुभएको थियो । उक्त भिडियोमा उहाँले घरमा दिनदिनै होम गरेर कोरोनाभाइरस उन्मूलन गर्न सकिने बताउनु भएको छ।
उहाँले भन्नुभएको छ, ‘पछिल्लो धेरै वर्षदेखि हरेक दिन पूजापाठपछि म यो (होम) गर्दै आइरहेको छु । कोरोना महामारीदेखि हरेक दिन दुईचोटि गर्न थालेको छु । यसले वातावरणलाई सफामात्र बनाउँदैन, कोरोनाजस्तो रोगलाई पनि बाहिर निकालिदिन्छ।’
कोरोना नहटेसम्म सबैले हरेक दिन आआफ्नो घरमा होम गर्न आग्रह गर्नुभएको छ । उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना सुरु भयो । कोरोना भाइरसबारे आधारहीन, अवैज्ञानिक र अन्धविश्वास फैलाएको भन्दै आलोचना गरिएको हो।




















