विश्वकप छनोटमा भारतको पहिलो जित।

एजेन्सी := भारतले फिफा विश्वकप कतार २०२२ र एसियन कप २०२३ को छनोटमा पहिलो जित दर्ता गरेको छ । कप्तान सुनिल क्षेत्रीको दुई गोल मद्दतमा भारतले सोमबार राति दोहास्थित जसिम विन हमाद स्टेडियममा भएको खेलमो बंगलादेशलाई २-० ले पराजित गर्दै छनोटमा पहिलो जित निकालेको हो । जितसँगै भारतले एसियन कपमा छनोट हुने सम्भावना जीवितै राखेको छ ।

छनोटमा भारतको यो पहिलो जित हो । तीन खेलमा हार बेहोरेको भारतले तीन खेलमा बराबरीको नतिजा निकालेको थियो । ७९औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले हेडमार्फत गोल गर्दै भारतलाई अग्रता दिलाउनुभयो । ९०औं मिनेटमा सुनिल क्षेत्रीले नै सुरेश सिंहको पासमा पेनाल्टी बक्सबाहिरबाट उत्कृष्ट गोल गर्दै भारतको जित पक्का गर्नुभयो ।

जितसँगै समूह ‘ई’ मा भारत सात खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको अफगानिस्तान पाँच अंक जोडेर चौथो स्थानमा रहेको छ । पराजित बंगलादेश दुई अंक जोडेर पुछारमा छ । यसै खेलमार्फत भारतीय राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीलाई गोलसंख्याका आधारमा पछि समेत पार्नुभएको छ । उहाँको गोल संख्या ७४ पुगेको छ । उहाँ अन्तर्राष्ट्रिय फुटबलमा सक्रिय गोलकर्तामा दोस्रो स्थानमा पुग्नुभएको छ ।

उहाँभन्दा क्रिस्टियानो रोनाल्डो १०३ गोलसहित पहिलो स्थानमा हुनुहुन्छ । अर्जेन्टिनी कप्तान मेस्सीले भने बिहिबार चिलीविरुद्ध गोल गर्दै गोलसंख्या ७२ पु¥याउनुभएको थियो । समग्र अन्तर्राष्ट्रिय फुटबल इतिहासमा भने सुनिल ११औं स्थानमा हुनुहुन्छ । उहाँभन्दा अघि हंगेरीका सान्दोर कोच्सिस, कपानका कुनिशिगे कमामोतो र कुवेतका बशार अब्दुल्लाह ७५ गोल गर्नुभएको छ । सुनिलभन्दा पछि यूएईका अलि मब्खोउटले ७३ गोल गर्नुभएको छ भने समग्रमा इरानका अलि दाइ १०९ गोलसहित शीर्ष स्थानमा हुनुहुन्छ ।