मेस्सीलाई पछाडि पार्दै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बने सुनिल।

एजेन्सी := भारतीय राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले बंगलादेशविरुद्ध दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीलाई गोल संख्यामा पछि पारेका छन् ।

३६ वर्षीय सुनिलको दुई गोलको मदतले भारतले विश्वकप छनोटमा सोमबार बंगलादेशमाथि २-० को जित दर्ता गरेको थियो । यससँगै उनको गोल संख्या ७४ पुगेको छ । उनी अन्तर्राष्ट्रिय फुटबलमा सक्रिय गोलकर्तामा दोस्रो स्थानमा पुगेका छन् । उनीभन्दा क्रिस्टियानो रोनाल्डो १ सय ३ गोलसहित अघि छन् । अर्जेन्टिनी कप्तान मेस्सीले भने बिहिबार चिलीविरुद्ध गोल गर्दै गोलसंख्या ७२ पुर्याएका थिए ।

समग्र अन्तर्राष्ट्रिय फुटबल इतिहासमा भने सुनिल ११ औं स्थानमा छन् । उनीभन्दा अघि हंगेरीका सान्दोर कोच्सिस, कपानका कुनिशिगे कमामोतो र कुवेतका बशार अब्दुल्लाह ७५ गोलसहित छन् । सुनिलभन्दा पछि यूएईका अलि मब्खोउटले ७३ गोल गरेका छन् । समग्रमा इरानका अलि दाइ १ सय ३ गोलसहित शीर्ष स्थानमा छन् ।

अर्जेन्टिनाले विश्वकप छनोट अन्तर्गत बुधबार कोलोम्बियाको सामना गर्दैछ । त्यसपछि कोपा अमेरिकामा पनि मेस्सीलाई गोलसंख्या बढाउने अवसर छ । यता भारतले अर्को साता अफगानिस्तानको सामना गर्दै सुनिललाई पनि गोलसंख्या बढाउने अवसर हुनेछ । यूएईले अर्को साता इन्डोनेसिया र भिएतनामसँग खेल्ने तालिका रहेकाले मब्खोउटले पनि आफ्नो गोलसंख्या बढाउनेछन् ।

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने सक्रिय फुटबलर:

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) – १ सय ३ गोल (१ सय ७४ खेल)

सुनिल क्षेत्री (भारत) – ७४ गोल (१ सय १७ खेल)

अलि मब्खोउट (यूएई) – ७३ गोल (९० खेल)

लिओनेल मेस्सी (अर्जेन्टिना) – ७२ गोल (१ सय ४३ खेल)

रोबर्ट लेवान्डोस्की (पोल्यान्ड) – ६६ गोल (१ सय १८ खेल)

लुइस सुआरेज (उरुग्वे) – ६३ गोल (१ सय १७ खेल)

ज्लाटन इब्राहिमोभिच (स्विडेन) – ६२ गोल ( १ सय १८ खेल)

रोमेलु लुकाकु (बेल्जियम) – ६० खेल (९३ खेल)

एडिन जेको (बोस्निया एण्ड हर्जगोभिना) – ५९ खेल (१ सय १४ खेल)