४६ वर्षकी भइन् शिल्पा शेट्टी, फिटनेसको रहस्य योग।

एजेन्सी := बलिउड उद्योगमा आफ्नो फिटनेस र सुन्दरताका लागि चिनिएकी बलिउड अभिनेत्री शिल्पा शेट्टीको आज जन्मदिन हो । उनको जन्म ८ जुन, १९७५ मा मंगलौरमा भएको थियो ।

शिल्पाले आफ्नो पढाई मुम्बईबाट पूरा गरेकी हुन् । अभिनयसँगै आफ्नो उत्कृष्ट नृत्यका लागि पनि शिल्पा चिनिन्छिन् । उनले भरतनाट्यम डान्समा प्रोफेशनल तालिम पनि लिएकी थिइन् । स्कुल पढ्दा उनी भलिबल टिमको कप्तान पनि थिइन् । उनी कराँतेकी ब्ल्याक बेल्ट पनि हुन् ।

शाहरुख खानको फिल्म बाजिगरमार्फत उनले बलिउड डेब्यु गरेकी थिइन् । फिल्ममा उनी सेकेन्ड लिडमा थिइन्, तर आफ्नो उत्कृष्ट अभिनयका कारण उनले नै सबैको ध्यान खिचिन् ।

फिल्ममा अभिनय गर्न आउनुअघि विज्ञापनमा : 

फिल्ममा आउनुअघि शिल्पा मोडलिङ गर्थिन् । सन् १९९१ मा उनी लिम्माको विज्ञापनमा देखिएकी थिइन् । यसपछि थुप्रै विज्ञापनमा छाइस्केपछि उनले बाजिगर फिल्ममा मौका पाएकी हुन् ।

सन् २००९ मा शिल्पाले व्यापारी राज कुन्द्रासँग विवाह गरे । दुबैको भेटघाट लण्डनमा भएको थियो । यो जोडीका एक छोरा वियान र छोरी समिक्षा छन् ।

पछिल्लो समय फिल्मबाट टाढा भएपनि शिल्पा चर्चा बाहिर भने छैनन् । उनले आफ्नो योगा स्किल्सलाई एक नयाँ मोड दिएकी छिन् । योगाकै विषयमा उनले डिभिटी लन्च गरेकी छिन्। स्वस्थ डाइटबारे पुस्तक लेखेकी छिन् र यी अभिनेत्रीको आफ्नै युट्युब च्यानल पनि छ । जहाँ, उनले फरक–फरक स्वस्थ खानेकुराको रेसेपी शेयर गर्छिन् ।

विशेषगरी, आफ्ना योगा भिडियोकै कारण शिल्पा चर्चामा रहन्छिन् । फिटनेसको रहस्य के हो भने सोध्दा उनी जवाफ फर्काउँछिन्,‘योग र स्वस्थ खानपान ।’