ब्लास्ट क्रिकेट प्रतियोगितामा सन्दीपको स्थानमा इश सोधीले खेल्ने।

काठमाडौं := न्युजिल्याण्डका लेग स्पिनर इश सोधीले इंग्ल्याण्डको भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट प्रतियोगिता खेल्ने हुनुभएको छ । वोर्सेस्टरशायर र्यापिड्सले स्पिनर सोधीमा टिममा अनुबन्ध गरेको हो ।

नेपाली लेग स्पिनर सन्दीप लामिछानेको स्थानमा र्यापिड्सले सोधीलाई अनुबन्ध गरेको हो । कोरोनाभाइरसका कारण उडान रोकिनुका साथै भिसामा पनि समस्या आएपछि सन्दीप बेलायत उड्न पाउनुभएको थिएन । भाइटालिटी ब्लास्ट जुन ९ देखि १८ सेप्टेम्बरसम्म हुने तालिका छ ।

सन्दीपले भिसा ढिला आएपछि सामाजिक संजालमा आक्रोश समेत पोख्नुभएको छ । सन्दीपले प्रतियोगिताका लागि मे २७ मा जानुपर्ने थियो । करिब १५ दिनको क्वारेन्टिनपछि उहाँ प्रतियोगिता खेल्न पाउने नियम थियो । तर, पासपोर्टमा भिसा पहिले नै लागि सकेको भएपनि शनिबारमात्रै पासपोर्ट पाउनुभएका कारण आफूले प्रतियोगिता गुमाउनुपरेको सन्दीपले गुनासो पोख्नुभएको छ ।

भाइटालिटी ब्लास्ट खेल्न नपाए पनि सन्दीप अर्को प्रतियोगिता द हन्ड्रेड क्रिकेटका लागि भने इंग्ल्यान्ड जाने हुनुभएको छ । सन्दीपले खेल्ने द हन्ड्रेड जुलाई २२ बाट हुने तालिका छ । सन्दीपले ओभल इन्भिन्सिबलबाट द हन्ड्रेड खेल्ने हुनुभएको छ।