जोर्डन बिरुद्ध उच्च मनोबलका साथ जीत्ने गरी आक्रामक फुटवल खेल्ने तयारीमा नेपाल।

काठमाडौँ:= नेपालको तुलनामा बलियो र फिया र्याक्कींगमा पनि निकै माथिल्लो स्तरको टोली जोर्डन बिरुद्ध अहिले सम्म खेलिएका तीन खेलमा नेपाल दुईमा हार र एकमा बराबरी खेलेको छ ।

विश्वकप छनौटकै लागि दश वर्ष अघि भएको खेलमा घरेलु मैदान अम्मानमा जोर्डनले नेपाललाई नौ शुन्यले धराशायी बनाएको थियो । तर त्यही बलियो टिम जोर्डनलाई नेपालले दशरथ रंगशालामा एक एकको बराबरीमा रोकेर देखायो त्यो पनि पाँच दिन भित्रैमा । त्यस पछि सन् २०२२ कै विश्वकप छनौटको सिलसिलामा अम्मानमै यस अघि भएको खेलमा नेपालले पहिलो हाफ् गोल रहित बराबरीमा रोक्दै दोस्रो हाफ्मा तीन गोल व्यहोरेर पराजीत भएको थियो ।

नेपालले नयाँ कोच पाएको छ अब्दुल्लाह अलमुताईरी । उनी टिमका लागि उत्साह भर्ने, नयाँ रणनीति बनाउने कुरामा अग्रसर देखिए । उनले टिमलाई आक्रामक फुटवल खेल्न सिकाईरहेका छन् । जोर्डनसँग पनि चार चार तीनको रणनीति अवलम्बन गर्ने सभावना छ । उनले जोर्डन बिरुद्ध जीत्दै एशिया कप छनौट चरणमा जाने आफ्नो लक्ष्य प्रिम्याच कन्फेरेन्समा बताईसकेका छन् ।

नेपालले जोर्डन बिरुद्ध आज राति पौने १० बजे कुवेतमा खेल्दै छ । चाइनिज ताइपेईविरुद्ध दुई जितसँगै ६ अंक जोडेको नेपाल छनोटको समूह ‘बी’ मा चौथो स्थानमा छ । शीर्ष स्थानको अष्ट्रेलिया अपराजीत रहँदै १५ अंक जोडेको छ । जोर्डन र कुवेतको समान नौ अंक रहेको छ ।

एसियन कपको तेस्रो चरणमा प्रवेश गर्न नेपालका लागि जोर्डनविरुद्ध सोमबार हुने खेल महत्त्वपूर्ण छ । कुवेत सिटीस्थित जाबेर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा ३ अंक जोड्न सके तेस्रो चरणमा पुग्ने नेपालको सम्भावना बढ्नेछ ।
समूहका शीर्ष टिम र दोस्रो हुनेमध्ये उत्कृष्ट चार गरी १२ टिम विश्वकप छनोटको तेस्रो चरणसँगै एसियन कपमा पुग्नेछन् ।

दोस्रो हुनेमध्ये तलका चार टिम, तेस्रो हुने आठ टिम र चौथो हुनेमध्ये उत्कृष्ट चार गरी १६ टिमले एसियन कप छनोटको तेस्रो चरणमा स्थान सुरक्षित गर्नेछन् । नेपाललाई समूहमा तेस्रो भएर सिधै एसियन कप छनोटको अर्को चरणमा पुग्ने अवसर पनि छ । त्यसको लागि जोर्डन र अस्ट्रेलियालाई पराजित गरेरमात्रै पुग्दैन, कुवेत र जोर्डनका बाँकी खेलको नतिजा पनि नेपालकै अनुकूल आउनुपर्छ । त्यसैले तेस्रो हुने नेपालको सम्भावना गणितीय रूपमा मात्रै बाँकी छ ।

छनोटका आठ वटा समूहका चौथो स्थानमा रहनेमध्ये उत्कृष्ट चारमा रहने टिमले मात्रै एसियन कपको तेस्रो चरणमा प्रवेश पाउनेछन् । छनोटको बीचबाटै उत्तर कोरियाले नाम फिर्ता लिएकाले पाँचौं हुने टिमसँगको नतिजा वरीयतामा (चौथो हुनेमध्ये उत्कृष्ट चारको छनोट) गणना हुने छैन । यसमा पर्न नसके नेपालले एसियन कपमा छनोटमा कयमै रहन प्लेअफमा सफलता हासिल गर्नुपर्नेछ । प्लेअफबाट आठ टिम तेस्रो चरणको छनोटमा पुग्नेछन् ।