काठमाडौं:= जनता समाजवादी पार्टी नेपाल (जसपा) को अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने भएको छ ।जसपालाई आजै सरकारमा सहभागी गराउने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।
जसपा ठाकुर पक्षले उठाएको माग बहुसंख्यक सम्बोधन भएको निष्कर्षसहित ठाकुर पक्ष नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी हुने भएको हो ।जसपाबाट महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री बन्ने तय भए पनि मन्त्रालयको टुंगो लाग्न बाँकी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले महतोको नेतृत्वमा जसपाबाट आठजना मन्त्री र दुई जनालाई राज्यमन्त्रीमा नियुक्त गरेर शुक्रबार नै शपथ ग्रहण गराउने भएको स्रोतले बतायो ।
जसपाबाट महतो र लक्ष्मणलाल कर्णसँगै नेताहरु शरतसिंह भण्डारी, अनिल झा, राजकिशोर यादव, एकवाल मियाँ, उमाशंकर अरगरिया र विमल श्रीवास्तव मन्त्री बन्ने सूचीमा रहनु भएको बुझिएको छ दुई राज्यमन्त्रीको पनि टुंगो लागि सकेको बताइएको छ ।
माओवादीबाट एमाले छिरेका मन्त्रीलाई सर्वोच्चले पदमुक्त गरेपछि आठवटा मन्त्रालय खाली छ । जसपाको अर्को यादव पक्ष भने ओली सरकार गिराउने पक्षमा छ । अध्यक्ष उपेन्द्र यादव र ठाकुरले एक अर्कालाई पार्टीबाट निष्काशन गरेर निर्वाचन आयोगलाई जानकारी गराए पनि आयोगले मान्यता दिएको छैन ।




















