कोरोनाको’नेपाल भेरियन्ट’भेटिएको भन्दै बेलायती मिडियामा कभरस्टोरी: ‘होलिडे’ प्रभावित हुने चिन्ता।

एजेन्सी := बेलायती पत्रिका डेली मेलले कोरोना भाइरसको ‘नेपाल भेरियन्ट’ भेटिएको दाबी सहित समाचार प्रकाशन गरेको छ। वैज्ञानिक स्रोतलाई हवाला दिँदै डेली मेलले प्रकाशन गरेको उक्त समाचारलाई बीबीसीलगायत अन्य मिडियाहरुले पनि कभर गरेका छन्।

हाल निकै संक्रामक मानिएको बी ११६७ ‘डेल्टा’  भेरियन्टका कारण नेपालमा संक्रमणको दर बढ्दो छ। ‘वैज्ञानिकहरु’लाई उद्धृत गर्दै नेपालमा अर्को भेरियन्ट भेटिएको चेतावनी दिएको समाचारमा उल्लेख छ।

नेपालमा नयाँ भेरियन्ट भेटिएको दाबीले पर्यटन क्षेत्रमा ठूलो असर पर्नेसमेत बताइएको छ। बेलायतमा ‘ फरेन होलिडे’ सुरु हुन लाग्दा सरकारले ‘ग्रीन लिस्ट’मा रहेका राष्ट्रहरुको नाम अपडेट गर्ने तयारी गरिरहेको छ। वैज्ञानिकहरुले नेपालबाट म्युटेन्ट स्ट्रेन भेरियन्ट उत्पत्ति भएको र युरोपमा फैलिएको दाबी नै गरेका छन्। आज सार्वजनिक हुने ‘होलिडे डेस्टिनेसन’ राष्ट्रहरुको ग्रीन लिस्टमा पोर्चुगल हट्न सक्ने बताइएको छ। नेपाल भेरियन्ट पोर्चुगलमा भेटिएको दाबी गरिएको छ। त्यसैले नेपाल भेरियन्टकै कारण बेलायतीहरुको ‘होलिडे’ प्रभावित हुने भन्दै कभर स्टोरी प्रकाशन गरिएको छ।

यद्यपि, सेज कमिटीका अधिकारीहरुले कोभिड १९का हजारौं भेरियन्टहरु रहेको भन्दै धेरै चिन्ता लिनु नपर्ने बताएका छन्।

बेलायती मिडियाहरुले वैज्ञानिक स्रोतको आधारमा नेपाल भेरियन्ट भेटिएको दाबी गरेपनि नेपालले भने यस विषयमा केही सार्वजनिक गरेको छैन।

स्वास्थ्य मन्त्रालयका संक्रामक रोग नियन्त्रण विभागका निर्देशक डाक्टर कृष्ण पौडेलले भने अहिलेसम्म आफूहरुलाई नेपाल भेरियन्ट फेला परेको बारेमा कुनै आधिकारिक सूचना नआएको बताएका छन्। साथै उनले प्रकाशित समाचारका आधारमा बेलायतसँग यसबारेमा थप सूचना मागिएकोसमेत बताएका छन्। उनले डेल्टा भेरियन्टमात्रै भेटिएको हुन सक्ने बताएका छन्।